बंगलादेशमा सरस्वती पूजाका विषयमा विवाद उठेको छ ।
बंगलादेशको उच्च अदालतले ढाकाका दुई सरकारी निकायद्वारा चुनावको मिति बदल्ने निवेदनलाई खारेज गरिदिएपछि विवाद भएको हो ।
त्यही मितिमा सरस्वती पूजा पनि पर्ने भएकाले हिन्दू समुदायले चुनावको मिति बदल्न अपील गरेको थियो ।
उच्च अदालत इजलासका न्यायाधीश जेबीएम हसन र न्यायाधीश एमडी खैरुलले मंगलवार निवेदनमाथि सुनुवाइ गरेर राज्य र निर्वाचन आयोगलाई आदेश जारी गरेका थिए ।
उच्च अदालतको आदेशपछि निवेदकहरू आक्रोशित भए । आदेश आएको केही समयपछि नै शाहबाग इलाकामा सयौं प्रदर्शनकारी सडकमा आए र बाटो जाम भयो ।
ढाका विश्वविद्यालयका सयौं विद्यार्थीहरूले मंगलवार सबभन्दा व्यस्त चोकमा डेढ घन्टा अवरोध गरे । विद्यार्थीहरूले निर्वाचन आयोगलाई मिति बदल्नका लागि एक दिनको समय दिएका छन् ।
ढाका विश्विद्यालयमा जगन्नाथ हाल स्टुडेन्ट युनियनका उपाध्यक्ष र प्रदर्शनको नेतृत्व गरिरहेका उत्पल विश्वासले पत्रकारहरूलाई भने, ‘निर्वाचन आयोगले बुधवार मध्याह्नसम्म हाम्रो माग मानेन भने आयोग घेर्नेछौं ।’
डिसेम्बर २२ का दिन निर्वाचन आयोगले ढाका साउथ सिटी कर्पोरेसन र ढाका नर्थ सिटी कर्पोरेसनको चुनाव माघ १६ गते गराउने घोषणा गरेको थियो । आयोगको निर्णयविरुद्ध हिन्दू समुदायले तुरुन्तै विरोध जनाउँदै माघ १५ र १६ मा सरस्वती पूजा मनाइने गरेको बतायो ।
अझ सरकारले मान्यता दिएको स्कूल क्यालेन्डरमा पनि माघ १४ लाई बिदा भनिएको छ ।
पूजा उद्यापन परिषद् र बंगलादेश बुद्धिस्ट क्रिस्चियन युनिटी काउन्सिल लगायतका संगठनले निर्वाचन आयोगसँग पर्व मनाउनका लागि चुनावको मिति बदल्न माग गरेका छन् ।
एजेन्सी