
आफ्नी पूर्वपत्नीसँग कानूनी लडाइँ लडिरहेका एक पुरुषले विवाद टुंग्याउनका लागि जापानी तरवार भिडन्तको प्रस्ताव गरेका छन् ।
अमेरिकाको कान्सास राज्यको पाओलामा बस्ने ४० वर्षीय डेभिड ओस्त्रोमले पूर्वपत्नी ब्रिजिट ओस्त्रोमलाई तरवार युद्ध गर्न कि वकिललाई कि अन्य कोहीलाई पठाउन भनेका छन् ।
अमेरिकामा तरवार युद्धलाई पूरै प्रतिबन्ध लगाइएको वा नियन्त्रणमा राखिएको छैन भनी उनले अदालतसमक्ष जिकिर गरे ।
शेल्बी काउन्टीको आयोवा जिल्ला अदालतमा उनले सन् १८१८ सम्म पनि यो तरिका अपनाउने गरिएको बताए ।
सन् २०१६ को एक मुद्दामा न्युयोर्क सर्वोच्च अदालतका न्यायाधीश फिलिप मिनार्दोले तरवारयुद्ध खारेज नभएको भनी स्वीकार गरिएको कुराबाट आफू प्रेरित भएको अस्त्रोमले बताए ।
आफ्ना मिसिलहरूमा ओस्त्रोमले पूर्वपत्नी र उनका वकिललाई युद्धभूमिमा भेट्ने र उनीहरूको शरीरबाट आत्मा निकाल्न चाहेको लेखे ।
पत्नीले आफूलाई कानूनी रूपमा ध्वस्त पारेको उनको कथन छ ।
उनले काताना र वाकिजाशी तरवार बनाउनका लागि १२ हप्ताको समय पनि अदालतसँग मागेका छन् ।
ब्रिजिटका वकिल म्याथ्यु हडसनले तरवारयुद्ध गर्दा मान्छे मर्ने सम्भावना भएकाले त्यसलाई रोक्नका लागि अदालतले आदेश दिनुपर्ने जिकिर गरेका छन् । ओस्त्रोमको मनोवैज्ञानिक उपचार गराउन अदालतले आदेश देओस् भनी उनले निवेदन गरेका छन् ।
आयोवा जिल्ला अदालतले दुवै पक्षको जिकिरका विषयमा कुनै पनि आदेश दिएको छैन ।
एजेन्सी