पुस १५ गते आफ्नी प्रेमिकाको हत्या गरेको आरोप लागेका एक व्यक्तिले मंगलवार एक न्युज च्यानलको स्टुडियो पुगेर अपराध स्वीकार गरेका छन् ।
मनिन्दर सिंह नामक ती व्यक्तिले एक शोमा अपराध सकारेका हुन् । उनलाई शोमा देखेर प्रहरीले स्टुडियोमै पुगेर पक्राउ गरेको थियो ।
पुस १६ गते चण्डीगढको औद्योगिक क्षेत्रको होटलमा सर्बजित कौरको शव बरामद भएको थियो । उनी नर्स थिइन् ।
प्रहरी अनुसन्धानले सर्बजित मनिन्दरसँग होटलमा आएको देखायो । मनिन्दर उनको हत्या गरेर भागेको थियो ।
प्रहरीले मनिन्दरको खोज गरिरहँदा ऊ एक टीभी च्यानल पुगेको थियो । उसले हत्याको अपराध कबुल्ने बताएपछि एंकरले उनीसँग अन्तर्वार्ता गर्न थाले । टीभीमा लाइभ शो आउनेबित्तिकै प्रहरी स्टुडियो पुग्यो अनि उनलाई पक्राउ गर्यो ।
आरोपित मनिन्दरले सर्बजीतलाई भेट्न होटल गएको बताए । नयाँ वर्ष होटलमै मनाउने उसको योजना थियो । राति सर्बजीतलाई एक केटाको फोन आयो । त्यसपछि मनिन्दर र सर्बजित झगडा गर्न थाले ।
रिसको सुरमा मनिन्दरले सर्बजीतको घाँटी थिच्यो । सर्बजीत बेहोश भएपछि ऊ बाँचिरहेकै होली भनी मनिन्दरले चक्कु निकालेर सर्बजितको घाँटी काट्यो ।
त्यसपछि १५ मिनेटसम्म प्रतीक्षा गरेर ऊ होटलबाहिर निस्कियो ।
मनिन्दरले सन् २०१० मा पनि एक युवतीको हत्या गरेको थियो । त्यतिखेर पनि उसले प्रेमिकालाई शंका गरेर हत्या गरेको थियो ।
उसलाई त्यतिखेर करनाल प्रहरीले पक्राउ गरेर जिल्ला अदालतले सजाय दिएको थियो । सजाय पाएपछि मनिन्दरले त्यसलाई उच्च अदालतमा चुनौती दिएको थियो । उसले बेल पाएपछि ऊ फरार थियो ।
मनिन्दर जहिले पनि चक्कु लिएर घुम्थ्यो । कसैले आफूलाई चिनेछ भने चक्कु हानेर भाग्ने उसको योजना थियो ।
एजेन्सी