
उपसभामुख शिवमाया तुम्बाहाम्फेको राजीनामालाई महिलासँग जोडेर चर्चा हुन थालेपछि सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले सभामुखमा महिला उम्मेदवार नै अघि सार्ने सम्भावना बढेर गएको छ ।
संसद् सचिवालयमा कार्यतर महिला कर्मचारीमाथि दुव्र्यवहारको आरोपमा कृष्णबहादुर महराले राजीनामा गरेपछि प्रतिनिधि सभाको सभामुखका लागि सुवास नेम्वाङ, अग्नि सापकोटा, देव गुरुङ र सोमप्रसाद पाण्डेको नाम चर्चामा थियो ।
सभामुख पूर्वमाओवादीले नै पाउनुपर्ने अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ अडानपछि प्रधानमन्त्री समेत रहेका अर्का अध्यक्ष केपी शर्मा ओलीले सभामुख पूर्व माओवादी पक्षलाई नै दिन सहमति जनाइसकेका छन्, तर हलो अझै अड्किरहेको छ ।
प्रधानमन्त्री ओलीले शुरूमा नेम्वाङलाई सभामुख बनाउन अडान लिएका थिए ।
‘नेम्वाङको च्याप्टर क्लोज भएपछि प्रचण्डले जो चाह्यो त्यही सभामुख भन्ने भद्र सहमति भएको थियो, अहिले परिस्थिति अलिकति बदलिएको छ,’ प्रचण्डनिकट स्रोतले भन्यो ।
प्रचण्डको पहिलो रोजाइ अग्नि सापकोटा हुन् ।
नेम्वाङलाई सभामुख बनाउन नपाएपछि ओलीले सापकोटालाई पनि सभामुख बन्न नदिने रणनीति अख्तियार गरेको स्रोतका दाबी छ ।
सोही कारण प्रचण्ड अर्को उम्मेदवार सिफारिस गर्नुपर्ने बाध्यात्मक अवस्थामा छन् ।
सभामुखका लागि दाबेदार मानिएकी उपसभामुख डा. शिवमाया तुम्बाहाम्फेलाई राजीनामा गराएर पुरुष उम्मेदवार उठाउँदा विरोध बढ्न सक्ने भन्दै पूर्व माओवादी खेमाले पम्फा भुसालको नाम अगाडि सारेको छ ।
तुम्बाहाम्फेमा सहमति नभए भुसाल नै नेकपाको उम्मेदवार बन्ने प्रायः निश्चित रहेको स्रोतले बतायो ।
‘प्रतिपक्षी दललाई समेत विश्वासमा लिएर संसद् चलाउन सक्ने र सबै राजनीतिक दललाई समन्वय गर्न सक्ने सभामुख अहिलेको आवश्यकता हो,’ प्रचण्डनिकट ती नेता भन्छन् ।
भुसाललाई उम्मेदवार बनाउँदा कांग्रेसले उम्मेदवारी नदिने नेकपाको विश्वास छ ।
प्रतिनिधि सभामा पूर्व माओवादी खेमाबाट भुसालका अतिरिक्त पूर्व सभामुख ओनसरी घर्ती, पूर्व–उपसभामुख पूर्णाकुमारी सुवेदी, नेतृहरू जयपुरी घर्ती र रेखा शर्मा लगायत महिला पनि क्रियाशील छन् ।
पढ्नुहोस्, यो पनि :
दृश्यमा तुम्बाहाङ्फेको राजीनामा, भित्र खेल अर्कै !
जयपूरी र पूर्णकुमारी अहिले प्रतिनिधि सभाको समितिका सभापति छन् । ‘पूर्व माओवादीबाट महिला सभामुख बन्दा पम्फा भुसाल सर्वसम्मत उम्मेदवार बन्नुहुन्छ,’ नेकपाका एक सांसद भन्छन् ।
उम्मेदवार छान्नै सकस !
उपसभामुखबाट राजीनामा गर्न नेकपा सचिवालय बैठकले दिएको निर्देशन तुम्बाहाम्फेले अस्वीकार गरेपछि नेकपाभित्र सभामुखको उम्मेदवार छान्न सकस परेको छ ।
पुस २६ गते नेकपा सचिवालय बैठकले सभामुख निर्वाचनका लागि राजीनामा गर्न आग्रह गरेको थियो । उनले सभामुखको उम्मेदवार चयन भएपछि मात्र राजीनामा गर्ने बताउँदै आएकी छिन् । उनले आफैंलाई सभामुख बनाउन दबाब दिइरहेकी छिन् ।
प्रचण्ड निकट मानिने नेकपाका प्रभावशाली स्थायी समिति सदस्य हरिबोल गजुरेल सभामुखमा पूर्व माओवादीले अडान नछाड्ने बताउँछन् ।
‘हामी बिलय भएर आएको भए पो आफ्नो अडान त्याग्ने, पार्टी एकीकरण भएर आएकाले हामी आत्मसम्मान खोजिरहेका छौं,’ गजुरेलले लोकान्तरसँग भने, ‘पार्टीका कार्यकर्ताको पनि मनोविज्ञानको कुरा छ, सभामुखमा अडान त्याग्ने कुरै हुँदैन ।’
सभामुखको अडानपछाडि कसैको हात रहेको उनको आशंका छ ।
‘म पार्टीको सदस्य होइन, निर्देशन मान्दिनँ भन्ने उपसभामुखको अहिलेको कार्यशैलीले भविष्यमा सभामुख बनेमा झनै अप्ठ्यारो परिस्थिति सिर्जना हुने नेतृत्वको चिन्ता छ,’ पूर्व माओवादीका अर्का एक नेता भन्छन्, ‘नेतृत्वलाई भिडाउन उहाँलाई कसैले उचालिरहेको छ ।’
गजुरेल पनि उपसभामुखलाई राजीनामा नगराउन अदृष्य शक्तिको चलखेलको आशंका गर्छन् । ‘पार्टीको निर्देशन मान्दिनँ, राजीनामा गर्दिनँ भन्ने अडान उहाँको बलबुताले मात्र आएकोजस्तो लाग्दैन,’ गजुरेल भन्छन् ।
उता शिवमायालाई पनि नेकपाभित्रको एउटा तप्काले साथ दिइरहेको छ ।
‘विगतमा ओनसरी घर्तीलाई उपसभामुखबाट सभामुख बनाउने प्रचण्ड अहिले शिवमायालाई बनाउन नहुने कारण के हो ?’ पूर्व एमालेकी एक महिला सांसद प्रश्न गर्छिन् ।
नेकपा सचेतक शान्ता चौधरी सभामुखका लागि शिवमाया पनि काबिल उम्मेदवार भएको तर्क गर्छिन् ।
‘सभामुखको उम्मेदवार त पार्टीले निर्णय गर्ने कुरा हो, तर सभामुखका लागि शिवमाया पनि काबिल र सक्षम उम्मेदवार हो,’ चौधरीले लोकान्तरसँग भनिन् ।
सभामुखको उम्मेदवार छनौट हुन नसक्दा प्रतिनिधि सभाको बैठक लामो समयदेखि सूचनामार्फत स्थगित भएको छ ।
संसद्को हिउँदे अधिवेशन पुस ४ गते शुरू भएको थियो । प्रतिनिधि सभाको बैठक माघ ६ गतेसम्मको लागि स्थगित भएको छ ।