हिज्बुल मुजाहिद्दीनका आतंकवादीहरूलाई आफ्नो गाडीमा राखेर जम्मु लैजाँदै गर्दा पक्राउ परेका जम्मु–कश्मीर प्रहरीका डीएसपी देविन्दर सिंहले प्रहरीको सोधपुछमा ठूलो खुलासा गरेका छन् ।
उनले प्रहरी बलमा तैनाथ अर्का एक वरिष्ठ अधिकारीले पनि आतंकवादीहरूका लागि काम गरेको आरोप लगाए । आफूले आतंकवादीहरूलाई सहयोग गरेर ठूलो गल्ती गरेको पनि उनले स्वीकार गरे ।
जम्मु–कश्मीर प्रहरीका सूत्रहरूले बताएअनुसार, देविन्दरले आतंकवादीहरूलाई जम्मु लैजानका लागि १० लाख भारु लिएका थिए । उनीहरूले भने, ‘सिंहले अर्का एक वरिष्ठ प्रहरी अधिकारी आतंकवादीसँग मिलेर काम गरेको स्वीकारे । तर यसको पुष्टि गर्नुपर्छ किनकि अनुसन्धानलाई भड्काउने प्रयास पनि हुन सक्छ यो ।’
पोहोर साल सिंहले हिजबुलका आतंकवादी नवीद बाबुलाई जम्मु पुर्याएका थिए । सूत्रहरूले भने, ‘नवीदले सिंहलाई पोहोर साल ८ लाख भारु दिएको थियो र ऊ दुई महिनासम्म जम्मुमा बसेको थियो । जनवरी ११ मा सिंहले नवीद बाबु र अन्य आतंकवादीसँगै पक्राउ गरेका थिए । त्यतिखेर सिंहले ती दुवैले आत्मसमर्पण गर्न लागेको दाबी गरेका थिए । अनुसन्धानकर्ताहरूले देविन्दर सिंहले झूट बोलेको बताए ।’
दुई दिनमा एनआईएको टीम श्रीनगर पुगेर देविन्दर सिंहलाई लिएर दिल्ली जाने र त्यहीँ सोधपुछ गर्ने सूत्रहरूले बताए । जम्मु–कश्मीर डीजीपीले देविन्दर सिंहलाई सेवाबाट बर्खास्त गरेको छ ।
देविन्दरको सम्बन्ध ड्रग्स माफियासँग पनि भएको अनुसन्धानमा खुलेको छ । सिंह पुलवामाको त्रालका निवासी हुन् । त्यो इलाका हिज्बुल मुजाहिद्दीनको गढ हो । त्रालमा देविन्दरको पैतृक सम्पत्ति पनि छ । उसकी एक पत्नी र दुई सन्तान छन् ।
एजेन्सी