०९ साउन २०८३, शनिबार

बारम्बार धर्म परिवर्तन गर्ने सेलिब्रेटीको नालीबेली

बारम्बार धर्म परिवर्तन गर्ने सेलिब्रेटीको नालीबेली

धर्मकर्मका कुरा यसै पनि संवेदनशील मानिन्छन्। त्यसमाथि धर्म परिवर्तनलाई ठूलै इस्युका रूपमा लिने चलन छ।

यद्यपि, कुन धर्म मान्ने भन्ने कुरा व्यक्तिको निजी आस्था र निर्णयमा भर पर्ने विषय हो । विश्वका थुप्रै नाम चलेका कलाकर्मीले धर्म परिवर्तन गरेका रहेछन् । केहीले त पटक–पटक धर्म परिवर्तन गरेका पनि छन् ।

अमेरिकी र्‍यापर स्नुप डगले चारचोटि धर्म परिवर्तन गरिसके । क्रिस्चियनभित्रका ब्याप्टिजम र मोर्मनिजम अँगालेका उनी बीचमा मुस्लिम भएका थिए । अहिले उनी रस्ताफरियन (जमाइकन धर्मावलम्बी) हुन् । ‘धर्मले ममा रूपान्तरण ल्याइदिएको छ,’ उनी भन्छन्, ‘म डाकु, लुटेरा पृष्ठभूमिको मान्छे हुँ । घृणालाई घृणाले जित्नुपर्छ भन्ने लाग्थ्यो । तर, अहिले फेरिएको छु । घृणालाई मायाले जित्नुपर्दो रहेछ ।’

अभिनेता टम क्रुज, गायिका म्याडोना, गायक बब डिलन आदिले धर्म परिवर्तन गरेका छन् । क्रुजले क्याथोलिकबाट चर्च अफ साइन्टोलजी अपनाएका हुन् भने उनीसँगै बिहे गरेकी अभिनेत्री केटी होल्म्स डिभोर्सपश्चात् पुरानै धर्ममा फर्किएकी छन् । उनी इसाईभित्रकै साइन्टोलजीबाट क्याथोलिकमा फर्किएकी हुन् । 

 विवादहरूमा परिरहने अभिनेत्री लिन्ड्से लोहान एकपटक कुरान समातेर बसिरहेको अवस्थामा भेटिएकी थिइन् । त्यसपछि उनले आफूलाई इस्लाम धर्ममा विश्वास रहेको स्पष्ट पारिदिइन् । आफूले कुरान भने पूरै पढीनसकेको उनको भनाइ छ । लिन्ड्सेकै कान्छीबहिनी, मोडल अली लोहान भने बुद्धमार्गी हुन् ।

म्याडोना सुरुमा रोमन क्याथोलिक थिइन् । सन् १९९६ मा धर्म परिवर्तन गरेर उनी यहुदी (काबाला) भइन् । आफूले कुरानसमेत पढ्ने गरेको उनी बताउँछिन् । गायक माइकल ज्याक्सनले धर्म फेरेर इस्लाम अँगालेका थिए भने अभिनेत्री मेरिलिन मुनरो विवाहपश्चात् यहुदी बनेकी थिइन् । उनी सुरुमा इसाई थिइन् ।

ओस्कार अवार्ड जितेकी अभिनेत्री जुलिया रोबट्र्सलाई हिन्दु धर्मले आकर्षित गरेछ । सन् २०१० मा भारत आएका बेला उनले गुरु थापीवरी धर्म परिवर्तन गरेकी थिइन् । अमेरिका फर्केपछि पनि उनी निरन्तर मठमन्दिर गइरहने गरेकी छन् । ‘म निकै बिग्रिएकी थिएँ,’ उनी भन्छिन्, ‘अब सुध्रिने मार्गमा छु । अर्को जुनीमा सबैको सेवा गर्न पाऊँ ।’ अभिनेत्री सारोन स्टोनचाहिँ इसाईबाट बुद्धमार्गी भएकी छन् ।

भारतका प्रख्यात संगीतकर्मी एआर रहमान हिन्दु परिवारमा हुर्किएका थिए । सुरुमा उनको नाम एएस दिलीप कुमार थियो । बाबु बितेपछि उनको परिवार इस्लाम धर्मपट्टि लाग्यो । रोचकचाहिँ के छ भने, उनलाई दिलीप कुमारबाट एआर (अल्लाहरखा) रहमान नाम दिने मान्छे हिन्दु पुजारी थिए ।

‘बहिनीको चिना देखाउन जाँदा ज्योतिषीले मलाई अब्दुल रहमान, अब्दुल रहिममध्ये कुनै एउटा नाम राख भने,’ एआर भन्छन्, ‘रहमान मनपर्‍यो । आमाले अल्लाहरखा थपिदिनुभएको हो ।’ सुफी दर्शनमा रुचि भएकाले पनि उनले धर्म परिवर्तन गरेको बताइन्छ ।

सैफ अली खानकी आमा, वरिष्ठ अभिनेत्री शर्मिला टैगोर पनि हिन्दुबाट मुसलमान भएकी हुन् । नयाँ धर्म अपनाएयता उनलाई बेगम आयशा सुल्तान भनेर पनि चिनिन्छ । क्रिकेटरसमेत रहेका नवाब मन्सुर अली खानसँग प्रेममा परेपछि शर्मिलाले प्रेमीकै धर्म अँगालेकी थिइन् । अभिनेत्री नरगिस भने मुस्लिम धर्म त्यागेर हिन्दु अनुयायी बनेकी थिइन् । सञ्जय दत्तकी आमा नरगिसले पनि प्रेमी सुनील दत्तका खातिर धर्म परिवर्तन गरेको बताइन्छ ।

अभिनेता धर्मेन्द्रले भने हेमा मालिनीसँग विवाह गर्न छोटो अवधिका लागि धर्म परिवर्तन गरेका थिए । हिन्दु छोडेर मुसलमान धर्म स्विकारेपछि उनले हेमासँग बिहे गर्न मिलेको थियो । पहिली श्रीमतीले पारपाचुके गर्न नमानेपछि धर्मेन्द्रले इस्लाम धर्मको सहारा लिई दोस्रो विवाह गरेका थिए । नयाँ धर्म अवलम्बन गर्ने पछिल्लो पुस्ताकी अभिनेत्री हुन्, आयशा टाकिया । प्रेमी फरहान आजमीसँग बिहे गर्न उनले हिन्दु धर्म त्याग्नुपर्‍यो । -एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्