०५ असार २०८३, शुक्रबार

अविरल वर्षा कहिलेसम्म ? मौसम विभागले गर्‍यो यस्तो पूर्वानुमान

अविरल वर्षा कहिलेसम्म ? मौसम विभागले गर्‍यो यस्तो पूर्वानुमान
फाइल फोटो

नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले देशैभर बदलीसँगै अविरल वर्षा र उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात भएको छ । 

मौसमी प्रणालीका कारण देशका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा तथा उच्च पहाडी तथा हिमाली भेगमा हल्कादेखि मध्यम हिमपात भएको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मौसमविद् सजिना शाक्यका अनुसार पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले शुक्रवार देशका अधिकांश स्थानमा वर्षा भइरहेको छ । शनिवारदेखि मौसममा क्रमिक सुधार आउने उनको भनाइ छ । महाशाखाले आगामी २४ घण्टाका लागि चेतावनीयुक्त विशेष बुलेटिन जारी गर्दै मध्य र पश्चिमका उच्च पहाडी तथा हिमाली भेगका थोरै स्थानमा भारी हिमपातको सम्भावना रहेकाले सतर्कता अपनाउन अनुरोध गरेको छ ।

काठमाडौं उपत्यकासहित देशका अधिकांश स्थानमा बिहीवार साँझदेखि निरन्तर वर्षा भइरहेको छ । उपत्यकामा अहिले पनि वर्षा भइरहेको छ । वर्षाका कारण जनजीवन प्रभावित भएको छ ।

वर्षासँगै मौसम बदलीका कारण शुक्रवार काठमाडौंमा बढी चिसो महसूस गरिएको छ । नेपालको पश्चिमी मध्य भूभागमा र पूर्वी पहाडी भूभागमा सामान्यदेखि पूर्णतया बदली रहेको महाशाखाले विशेष बुलेटिनमार्फत जनाएको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रवार काठमाडौंमा २१ मिलिमिटर वर्षा भएको छ । भैरहवामा ३९, दाङमा २७, पोखरामा २३, वीरेन्द्रनगरमा २४, नेपालगञ्जमा १०, डडेल्धुरामा ८, धनगढी र दिपायलमा समान ७ मिलिमिटर वर्षा भएको छ । काठमाडौंको न्यूनतम तापक्रम ८ दशमलव ८ र अधिकतम तापक्रम १४ दशमलव ९ मिलिमिटर वर्षा भएको छ ।

यसैबीच महाशाखाले आगामी ३ दिनको मौसम पूर्वानुमान बुलेटिन निकालेर शुक्रवार देशभर सामान्यदेखि पूर्ण बदली रहने तथा देशका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ । उच्च पहाडी तथा हिमाली भेगका अधिकांश स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ भने पश्चिम तथा मध्यको उच्च पहाडी तथा हिमाली भेगका थोरै स्थानमा भारी हिमपातको सम्भावना रहेको छ ।

रातको समयमा पनि देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । देशका केही स्थानमा हल्का वर्षा हुने र उच्च पहाडी तथा हिमाली भेगमा हल्का हिमपातको सम्भावना रहेको छ । शनिवार पनि देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । पहाडी भूभागका थोरै स्थानमा हल्का वर्षा हुने छ भने पश्चिमी उच्च पहाडी तथा हिमाली भेगका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

राति पनि सोही मौसमी प्रक्रिया रहने जनाइएको छ । आइतवार देशका पहाडी भूभागमा आंशिक बदली भई पहाडी भेगका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्