
शहीद स्मारक ‘ए’ डिभिजन लिग फूटबल प्रतियोगिताअन्तर्गत आइतवार भएको पहिलो खेलमा न्युरोड टीम (एनआरटी)ले सशस्त्र प्रहरी बल (एपीएफ) लाई पराजित गर्दै विजयी भएको छ ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा भएको खेलमा एनआरटीले विभागीय टोली एपीएफलाई ३–२ गोलअन्तरले पराजित गर्दै विजयी भएको हो । एनआरटीलाई जीत दिलाउन आन्द्रे थेरी, जोर्डन एनडेम्बा र दर्शन गुरुङले एक-एक गोल गरे ।
एनआरटीका खेलाडी आन्द्रे थेरीले खेलको २४औं मिनेटमा पहिलो गोल गरे । खेलमा एक शून्य गोलको अग्रता बनाएको एनआरटी खेलको ४१औं मिनेटमा एक गोल खान पुग्यो । जसमा एपीएफका आशिष लामाले गोल गरे ।
खेलको पहिलो हाफसम्म एक-एक गोलको बराबरीमा टुङ्गिएको खेल दोस्रो हाफमा भने एनआरटीले दुई गोल थप्दा एपीएफले एक गोल थप्यो । खेलको ५३औं मिनेटमा एपीएफका आशिष लामाले व्यक्तिगत दुई गोल गर्दै एपीएफलाई २–१ को अग्रता दिलाए । त्यो दुई एक गोलको अग्रता लामो समयसम्म टिक्न सकेन ।
एनआरटीका खेलाडी जोर्डन एनडेम्बाले खेलको ८०औं मिनेटमा एक गोल थप्दै खेललाई २–२ गोलको बराबरीमा ल्याए । त्यसपछि एनआरटीका अर्का खेलाडी दर्शन गुरुङले खेलको ८५औँ मिनेटमा एक गोल थपेपछि एनआरटीले एपीएफमाथि ३–२ को जीत हात पार्यो । जीतसँगै एनआरटी लिगको छैटौं स्थानमा उक्लिएको छ । एनआरटीले सात खेलमा ११ अङ्क जोडेको छ भने एपीएफले समान सात खेलमा पाँच अङ्क जोडेर लिगको १२औँ स्थानमा रहेको छ ।