२५ जेठ २०८३, सोमबार

यी महिला देशलाई घाटा लगाएर बनिन् अफ्रिकाकै सबभन्दा धनी

यी महिला देशलाई घाटा लगाएर बनिन् अफ्रिकाकै सबभन्दा धनी

अफ्रिकी मुलुक अंगोलाकी इजाबेल दोस सान्तोसले आफ्ना पिता चार दशकसम्म राष्ट्रपति रहँदा अकुत पैसा कमाएको खुलासा भएको छ । उनको व्यापारिक साम्राज्यको गोप्य दस्तावेजहरू लीक गरिएपछि यो कुरा थाहा भएको हो । 

इन्टरनेसनल कन्सोर्टियम अफ इन्भेस्टिगेटिभ जर्नलिस्ट्सको नेतृत्वमा बेलायतबाट निस्कने द गार्डियन पत्रिका र २० देशका पत्रकारहरूले गरेको अनुसन्धानमा दोस सान्तोसलाई उनको पिताको सरकारबाट प्राप्त असाधारण अवसरले फाइदा दिलाएको देखाउँछ । पिता जोसे एडुआर्डो दोस सान्तोसले सेप्टेम्बर २०१७ मा पदत्याग गरेका थिए । 

इजाबेलले आफ्नो अधिकांश समय लन्डनमा बिताउने गरेकी छन् र अफ्रिका तथा युरोपभरि उनका विभिन्न बैंक, टेलिकम, टीभी, सिमेन्ट, मदिरा, सुपरमार्केट र घरजग्गा व्यवसायमा उनको संलग्नता छ । 

यस अनुसन्धानलाई लुआन्दा लीक्स नाम दिइएको छ र यो ७१५ हजार इमेल, चार्ट, सम्झौतापत्र, लेखापरीक्षण र बहीखातामा आधारित छ । भ्रष्टाचारविरोधी निकाय प्ल्याटफर्म टु प्रोटेक्ट ह्विसलब्लोअर्स इन अफ्रिकाले यी दस्तावेज हात पारेको हो । उनीहरूले आईसीआईजेलाई यी दस्तावेजहरू सुम्पेका थिए । 

दोस सान्तोस र उनका पति व्यापारी तथा कला संकलक सिन्डिका दोकोलोले आफ्ना कर्मचारीहरू र कानूनी सल्लाहकारहरूका कम्प्युटर ह्याक गरिएको बताएका छन् । अंगोलाका नयाँ राष्ट्रपतिले राजनीतिक उद्देश्यका साथ आफूहरूलाई लखेटेको उनीहरू बताउँछन् । उनीहरूले आफ्ना वकिलमार्फत सबै आरोपलाई अस्वीकार गरेका छन् र राज्यको पैसाले व्यापारमा लगानी गरेको आरोपलाई पूरै नकारेका छन् । 

‘बहालवाला सरकारले राजनीतिक मकसद राखेर नियोजित रूपमा आक्रमण गरेको हो र यो पूर्णतः आधारहीन छ,’ दोस सान्तोसले बीबीसीलाई बताइन् । ‘मेरा सबै सम्पत्तिहरू व्यापारबाट कमिएका हुन् र सार्वजनिक ठेक्काबाट कुनै पनि फाइदा उठाएको छैन,’ उनको भनाइ छ । 

जोसे एडुआर्डो दोस सान्तोसले केही पनि गलत नगरेको भन्दै खुलापत्र लेखे र आफूले आफैंलाई वा अन्य कसैलाई राज्यको पैसा उपलब्ध नगराएको लेखे । 

तर अनुसन्धानले उनीहरूको दाबीलाई झूटो ठहर गरेको छ ।

तीन हप्ताअघि अंगोलाका महान्यायाधिवक्ताले दोस सान्तोस, दोकोलो र उनीहरूका मुख्य सल्लाहकारको सम्पत्ति रोक्का गर्ने घोषणा गरे । उनीहरूले देशको सार्वजनिक स्वामित्वका तेल र हीरा कम्पनीहरूसँग कारोबार गरेर देशलाई एक अर्ब डलरको घाटा लगाएको आरोप महान्यायाधिवक्ताले लगाए । 

अंगोलाका अभियोजनकर्ताहरूले दोस सान्तोस राज्यको तेल कम्पनी सोनानगोलको अध्यक्ष हुँदा गरेका गतिविधिका सम्बन्धमा फौजदारी अनुसन्धान शुरू गरेका छन् । उनीहरूले बेलायत, पोर्चुगल, स्विट्जरल्यान्ड, अमेरिका र कंगोका समकक्षीहरूसँग मिलेर सम्पत्ति छानबिन थालेका छन् । पैसा हस्तान्तरण गर्ने काम रोक्न तथा सूचना बटुल्न पनि उनीहरू लागिपरेका छन् ।

द गार्डियनबाट

salt training

कमेन्ट गर्नुहोस्