२६ जेठ २०८३, मंगलबार

प्रहरीको भ्यानमा समेत फोटोका लागि पोज दिएका मनाङ्गेले भने– 'मेरो मिसन पूरा भयो'

माघ १०, २०७६
प्रहरीको भ्यानमा समेत फोटोका लागि पोज दिएका मनाङ्गेले भने– 'मेरो मिसन पूरा भयो'

गण्डकी प्रदेशका प्रदेश सभा सदस्य राजीव गुरुङ उर्फ दीपक मनाङ्गेलाई २ दिन हिरासतमा राख्न म्याद थप भएको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीले अनुसन्धानका लागि ३ दिन माग गरेपनि जिल्ला सरकारी वकिलको कार्यालय कास्कीले २ दिनमात्र माग दाबी गरेको थियो, सोहीअनुरूप जिल्ला प्रशासन कार्यालय कास्कीले २ दिनको म्याद दिएको हो ।

कास्कीका प्रमुख जिल्ला अधिकारी रमेशबहादुर केसीले अनुसन्धानका लागि आवश्यक भएमा थप म्याद दिन सकिने बताए । प्रहरीले भने भोलि (शनिबार) भएकाले ३ दिन माग गरेको थियो ।

एन्फा कास्कीका अध्यक्ष मिलन गुरुङलाई गत मंगलबार पोखराको लेखनाथमा आयोजित मुख्यमन्त्री कप फुटबल प्रतियोगिता उद्घाटनकै बेला सांसद मनाङ्गेले झापड हानेका थिए ।

सोको विरुद्ध एन्फा कास्की अध्यक्ष मिलनले जिल्ला प्रहरीमा दिएको जाहेरी दरखास्तपछि बिहीबार मनाङ्गे पोखरा लेकसाइडस्थित एक होटलबाट पक्राउ परेका थिए ।

म्याद थपका लागि जिल्ला प्रशासन कार्यालयमा उपस्थित गराइएका सांसद मनाङ्गेले पत्रकारसँग संक्षिप्त कुराकानी गर्दै आफ्नो मिसन सफल भएको प्रतिक्रिया दिएका छन् ।

उनले भने, ‘मेरो मिसन सफल भयो । उसले (मिलन गुरुङ) पोखरामा १० वर्षदेखि सबैलाई ठग्दै आएको रहेछ ।’

यसैबीच, सांसद मनाङ्गेविरुद्ध उजुरी दिने एन्फा कास्कीका अध्यक्ष मिलन गुरुङलाई पनि शुक्रबार दिउँसो पोखरा न्यूरोडबाट प्रहरीले पक्राउ गरेको छ ।

गुरुङको पक्राउलाई मनाङ्गेले आफ्नो मिसन पूरा भएको रूपमा अर्थ्याउन खोजेका थिए ।

उनीविरुद्ध ठगी तथा चेक बाउन्स (बैंकिङ कसूर) को उजुरी परेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता राजकुमार केसीले जानकारी दिए ।

उनले भने, ‘उनीविरुद्ध ठगी तथा चेक बाउन्सको उजुरी परेकाले उच्च जिल्ला अदालत पोखराबाट अनुमति लिई जिल्ला प्रहरी कार्यालयले पक्राउ पूर्जी दिएको हो ।’

स्रोतका अनुसार उनीविरुद्ध पोखरा– ६ लेकसाइडस्थित ओम गोरा जोस्टल होटलका सञ्चालक हरिभक्त आचार्यले २ लाख ठगीको आरोपमा बैंकिङ कसूरको मुद्दा दायर गरेका थिए ।

salt training

कमेन्ट गर्नुहोस्