काठमाडौं, ६ पुस–हास्य कलाकार धुर्मुस सुन्तलीले तेश्रो एकिकृत वस्ती निर्माणको घोषणा गरेका छन् । पछिल्लो समय सामाजिक कार्यमा सक्रिय रहेका कलाकार सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) ले तेश्रो एकिकृत वस्ती निर्माणको घोषणा गरेका हुन् ।
एक भिडियो सार्वजनिक गर्दै उनीहरुले मानवता र सद्भावका लागि सहकार्य गरेर साथ दिन सम्पूर्ण सहयोगी मनसँग अपील गरेका छन् ।
भूकम्प पीडितका लागि काभ्रे र सिन्धुपाल्चोकमा दुईवटा एकिकृत नमूना बस्ती निर्माण गरेर वहावहाई कमाएको धुर्मुस सुन्तलीले बर्दिबास २, महोत्तरीमा एकिकृत नमूना मुसहर बस्ती निर्माण गर्ने घोषणा गरेका हुन् ।
गत वर्ष सरसफाईका लागि महोत्तरी पुगेका धुर्मुस सुन्तलीले त्यहाँको मुसहर वस्तीको दर्दनाक अवस्था देखेपछि एकीकृत वस्ती निर्माण गर्ने योजना बनाएका थिए ।
चरम गरिबीको चपेटामा रहेका मुसहर दाउरा बेचेर जिविकोपार्जन गर्दै आएका तराइको पिछडिएको जातिमा पर्छन् ।
भूकम्पपीडितलाई पहिलो प्राथमिकतामा राख्दै एकिकृत बस्ती निर्माण गरेका उनीहरुले तराईमा मानवता र सद्भावका लागि काम गर्न लागेको बताएका छन् ।
गाँस, बास र कपासको समेत समस्या रहेको मुसहर बस्तीमा आफूहरु पुगेपछि अहिले निकै परिर्वतन देखा परिसकेकाले ५० परिवार मुसहरलाई घर प्रदान गर्न लागिएको फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेलले बताएका छन् ।
उनी भन्छन्, ‘स्वास्थ्य, शिक्षा, सरसफाईमा निकैपछि रहेको मुसहर बस्तीलाई बालमैत्री, शिक्षित र सरसफाईयुक्त बनाउन सक्नु ठूलो परिर्वतन हो, त्यो उपलब्धी हाँसिल गर्नका लागि पहिलेजस्तै सबैको सहयोगको आवश्यकता छ ।’ नजिकै विद्यालय भएपनि विद्यालय नजाने बालबालिका हामीले आग्रह गरेपछि सबैजना विद्यालय जान थालेका छन्, सरसफाईमा ध्यान पुर्याउन थालेका छन्, त्यसैले पनि त्यो बस्तीलाई सुन्दर बनाउने सपना देखेको उनको भनाइ छ ।
४ करोड ७८ लाख लगानीमा निर्माण हुने बस्तीका लागि फाउण्डेशनले गिरान्चौर एकिकृत नमूना बस्ती निर्माणबाट बचेको १ करोड ३ लाख ६६ हजार ३ सय १ रुपैयाँ मुसहर बस्ती निर्माणका लागि खर्च गर्ने फाउण्डेशनकी कोषाध्यक्ष कुञ्जना घिमिरेले बताइन् ।
मानवता र सद्भावका लागि निर्माण गर्न लागिएको बस्ती निर्माणमा अपुग रकम सहयोग गरिदिन सम्पूर्ण सहयोगी मन समक्ष उनले आग्रह गरेकी छिन् । ‘दुईवटा बस्ती निर्माण सम्पन्न गरिसकेपछि अझै बढी जिम्मेवारी बढेको महसुस गर्दै चैत अन्तिमसम्ममा निर्माण सम्पन्न गर्ने लक्ष्यसहित नयाँ परियोजनाको घोषणा गरेका हौँ,’ उनले भनिन् ।
हेर्नुहोस् सहयोग अपिलसहितको धुर्मुस सुन्तलीको यो भिडियो