३० जेठ २०८३, शनिबार

प्रहरीहरूको बीचबाट आस्थाले भनिन्– 'कानूनको हिसाबले जे मलाई हुन्छ त्यसलाई सहर्ष स्वीकार्छु'

प्रहरीहरूको बीचबाट आस्थाले भनिन्– 'कानूनको हिसाबले जे मलाई हुन्छ त्यसलाई सहर्ष स्वीकार्छु'

हिरासतमा राख्न प्रहरीले ४ दिनको म्याद पाएपछि गायिका आस्था राउतले कानूनअनुसार हुने कारवाही स्वीकार्ने प्रतिक्रिया दिएकी छन् ।

जिल्ला प्रशासन कार्यालय परिसरमा सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै राउतले कानूनलाई को-अपरेट गर्नका लागि नै आफू प्रहरीमा उपस्थित भएको बताइन् ।

'कानूनलाई कोअपरेट गर्नका लागि आएको हो । उहाँहरूले मलाई एकदमै सौहार्द वातावरणमा आफ्नो कुरा राख्न दिनुभएको छ,' गायिका राउतले भनिन्, 'कानूनभन्दा माथि म पनि छैन, कोही पनि छैन ।'

गायिका राउतले थपिन्, 'मैले कानूनको हिसाबले जे मलाई हुन्छ, त्यसलाई म सहर्ष स्वीकार गर्छु । सधै सबैले कानूनलाई कसैले पनि नमिचौं भन्न चाहन्छु ।'

जिल्ला प्रशासनले अनुमति दिएसँगै राउतलाई ४ दिन हिरासतमा राख्न प्रहरीलाई बाटो खुलेको छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले गायिका राउतलाई ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई म्याद दिएको कार्यालयका सूचना अधिकारी जीवनप्रसाद आचार्यले लोकान्तरलाई जानकारी दिए ।

प्रहरीले जिल्ला सरकारी वकिलको कार्यालयमार्फत जिल्ला प्रशासन कार्यालय काठमाडौंसमक्ष म्याद थपका लागि अनुरोध गरेको थियो ।

फेसबूक लाइभमा आएर प्रहरीलाई अपशब्द प्रहार गरी गालीगलौज गरेपछि आस्थाविरुद्ध पक्राउ पूर्जी जारी भएको थियो ।

आस्था सोमवार आफैं प्रहरीमा उपस्थित भएकी थिइन् । त्यसपछि उनलाई म्याद थपका लागि जिल्ला प्रशासन कार्यालय लगिएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्