
प्रदेश सभाको विपक्षी दलका नेता बलदेव शर्मा पोखरेलको सम्झनामा मंगलबार श्रद्धाञ्जली सभा गरिएको छ ।
गत माघ ५ गते ८२ वर्षको उमेरमा पोखरेलको मृत्यु भएको थियो ।
कांग्रेस संसदीय समितिले प्रदेश सभामा श्रद्धाञ्जली सभा आयोजना गरेको थियो ।
प्रदेश सभाको कार्यकालको बीचमा जेष्ठ सदस्यसमेत रहेका पोखरेल क्यान्सर रोगले ग्रस्त एक वर्षदेखि क्यान्सरसँग लड्दालड्दै अस्ताएका हुन् ।
सो अवसरमा बोल्दै मुख्यमन्त्री पोखरेलले प्रदेशलाई स्थापित गर्ने योद्धा गुमाउँदा पीडाबोध भएको बताए ।
‘शर्मा अभावमा नेपाली कांग्रेसले उहाँले देखेको सपना पूरा गर्ने गरी असल संस्कार सिक्नुपर्छ,’ पोखरेलले भने ।
नेपालको प्रजातान्त्रिक आन्दोलनको सफलतामा शर्माको समेत भूमिका रहेको भन्दै उनको जीवनशैलीबाट प्रेरणा लिन सकिने पोखरेलले बताए ।
राजनीतिक टिकाटिप्णीबाट अपवाद रहेका शर्मा र उनको जीवनशैली सबैले अनुसरण गर्नुपर्ने मुख्यमन्त्री पोखरेलको भनाइ थियो ।
उनले शर्माको योगदान तलमाथि हुन नदिने र असल परम्परालाई स्थापित गर्ने प्रतिबद्धता समेत व्यक्त गरे ।
सभामुख पूर्णबहादुर घर्तीले संसद्मा शर्माले खेलेको भूमिकाको उच्च कदर गरिने बताए । सादगी जिन्दगी बिताउने, लाभको पद नसोच्ने स्वभाव भएका शर्माको जीवनलाई सबैले अनुसरण गर्नुपर्ने बताए ।
नेकपाका प्रमुख सचेतक भूमिश्वर ढकालले पोखरेलले संसद्मा खेलेको भूमिका महत्त्वपूर्ण रहेको भन्दै अधुरा कार्यहरू सबै मिलेर सम्पन्न गर्ने बताए ।
उनले पोखरेलको निधनले बाटो नबिराई हिँड्ने पाठ सिकाएको समेत बताए ।
नेपाली कांग्रेस कि सचेतक निर्मला क्षेत्रीले पोखरेलको निधनले संसद्ले अभिभावक गुमेको बताइन् ।
नेपाली राजनीतिभित्र आन्दोलनको अगुवाई गर्ने पोखरेलको निधनले संसद्मा कांग्रेस अपूरो हुने उनले बताइन् ।