
भारतको उत्तर प्रदेशको सिकन्दरपुर गाउँमा बाँदरले दुःख दिएपछि गाउँलेहरू बाँदर भगाउन अनौठो उपाय गरेका छन् ।
दुई हजारभन्दा बढी बाँदरले उधुम मच्चाएर गाउँलेहरूलाई सताएपछि गाउँलेहरूले वन विभागका अधिकारीलाई गुहारे । तिनीहरूले मतलब नगरेपछि गाउँलेहरूले आफैं केही गर्ने सोचे ।
दुईजना गाउँलेले भालुको भेष धरे अनि गाउँमा घुमीघुमी बाँदर तर्साए ।
गाउँका प्रमुख रामललित वर्माले स्थानीय पत्रकारलाई बताए, ‘हामीहरू पालैपालो भालुको भेष धरेर गाउँ घुम्ने गरेका छौं । मलाई एक नातेदारले यसको सुझाव दिए अनि यसले काम गरिरहेको छ ।’
गाउँलेहरूले पैसा उठाएर एक मेकअप आर्टिस्टसँग तीनवटा भालुका कपडा किने ।
भालु देखेर बाँदरहरूको आक्रमणमा कमी आएको छ । पहिलापहिला बाँदरहरूले १५० बालबालिकामाथि आक्रमण गरेका थिए । गाउँको जनसंख्या ५२ सय छ ।
शाहजहाँपुरका सब–डिभिजनल वन अधिकारी एमएन सिंहले छिट्टै सिकन्दरपुर गाउँ जाने र भालुको लुगाले बाँदर भागेको कुरा जाँच्ने अनि यो सत्य साबित भएमा अन्य गाउँमा पनि यस्तै गर्न सुझाव दिने बताए ।