
काठमाडौँको चावहिल चोकमा पैदल यात्रुका लागि आकाशे पुल निर्माण कार्य शुरु भएको छ। बिहीबार काठमाडौँ महानगरका मेयर विद्यासुन्दर शाक्यले पुल निर्माणको शिलान्यास गरेर निर्माण कार्यको शुभारम्भ गरेका हुन्।
फलामबाट बन्ने यो पुल निर्माणको लागत अनुमान १ करोड २१ लाख ३३ हजार ८४३ रुपैयाँ थियो। बोलपत्र आव्हान हुँदा आएका प्रस्तावमध्ये कान्छामान निर्माण सेवाले ८२ लाख ६६ हजारमा निर्माण कार्यको कबोल गरेर काम जिम्मेवारी पाएको महानगरले जनाएको छ।
निर्माण पक्षसँग गएको कात्तिक २७ गते नै सम्झौता भइसकेको छ । सम्झौताबमोजिम पुल निर्माणको काम २०७७ असार २७ गतेभित्र सम्पन्न गरिसक्नुपर्नेछ। आकाशे पुलका डिजाइनर इञ्जिनियर प्रेमबहादुर श्रेष्ठका अनुसार पुलको लम्बाइ २३ मिटर र चौडाइ २ मिटरको हुनेछ।
मेयर शाक्यले पैदल यात्रुको सुरक्षा र सहरी सवारी आवागमनलाई सहज बनाउने महानगरले यात्रुको धेरै चाप हुने ठाउँहरुमा पैदल यात्रुका लागि क्रमशः आकाशे पुल निर्माण गर्दै जाने बताए। यी पुलहरु आवश्यकताका आधारमा अर्को ठाउँमा पनि सार्न सक्ने खालका हुनेछन्।
मेयर शाक्यले कामको परिणामका बारेमा कुरा गर्दै भने, ‘पूर्वाधार बनाउन शिलान्यास गर्ने तर काम नसकिएर उद्घाटन हुन नसक्ने समस्याबाट ग्रस्त बनेको बर्तमान सन्दर्भलाई समयमा नै पुल निर्माण सम्पन्न गरेर समयमा नै काम गर्न सकिन्छ भन्ने सन्देश दिन सक्नुपर्छ ।’