१२ असार २०८३, शुक्रबार
प्रशासनिक हेरफेर

गृहसचिव राईद्वारा राजीनामा, नयाँका लागि दौडधूप शुरू

गृहसचिव राईद्वारा राजीनामा, नयाँका लागि दौडधूप शुरू

आगामी साता अनिवार्य अवकाश पाउन लागेका गृहसचिव प्रेमकुमार राईले राजीनामा दिएका छन् ।

माघ २२ गतेदेखि अनिवार्य अवकाश पाउन लागेका राईले माघ २० गतेदेखि लागू हुने गरी राजीनामा दिएका गृह मन्त्रालय स्रोतले लोकान्तरलाई जानकारी दियो । उनले मुख्यसचिव लोकदर्शन रेग्मी समक्ष राजीनामा पेश गरेका हुन् ।

२०४९ साल अगाडि निजामती सेवामा प्रवेश गरेका कर्मचारीले राजीनामा दिँदा पेन्सन बढ्ने भएकाले राईले २ दिन अगावै राजीनामा गरेको स्रोतले बतायो । गृह मन्त्रालयमा लामो समय काम गरेका राई निर्विवाद सचिवको रुपमा बाहिरिन लागेका हुन् । 

राईसँगै अर्थ मन्त्रालयका सचिव राजन खनाल तथा सचिवहरू गजेन्द्र ठाकुर र रामकुमार आचार्यले पनि माघ २२ गते अवकाश पाउँदैछन् ।

नयाँका लागि दौडधूप शुरू

प्रेम राइको राजीनामासँगै गृह मन्त्रालयको सचिव बन्नका लागि दौडधूप शुरू भएको छ । महत्त्व र सुविधाको हिसाबले निजामती सेवामा गृहसचिव आकर्षक पदको रुपमा लिइन्छ । 

प्रधानमन्त्री कार्यालयसँग प्रत्यक्ष सम्पर्क रहने, देशको शान्ति सुरक्षाको जिम्मा रहने तथा सूत्र परिचालनमार्फत अडिट नहुने रकम खर्च गर्न मिल्ने भएका कारण पनि गृहसचिवलाई आकर्षक मानिन्छ । 

सचिवमा बढुवा हुन लागेका हाल कोलकत्तास्थित नेपाली महावाणिज्यदूत एकनारायण अर्याललाई बढुवा गरेर उनलाई गृहसचिव बनाउनेबारे नेकपामा छलफल शुरू भएको छ ।

काठमाडौंको प्रमुख जिल्ला अधिकारीको रुपमा खेलेको भूमिका र महावाणिज्यदूतको रुपमा खेलेको भूमिकाका कारण अर्यालप्रति स्वयं प्रधामनन्त्री केपी शर्मा ओली प्रशन्न रहेको बताइन्छ ।

काठमाडौंको सीडीओ रहेको समयमा उनले अखाद्य बस्तुको गोदाममा छापा हानेका थिए । २०७२ सालको भूकम्पपछि कालोबजारी गर्न गोदाममा खाद्यान्न लुकाउने व्यापारीको गोदाममा छापा हानेका थिए । सहसचिव अर्याल केही समयमै सचिवमा बढुवा हुँदैछन् ।

उनले पटक–पटक सीडीओको रुपमा समेत काम गरेका छन् । निजामती सेवामा उनी निर्णय गर्ने क्षमता भएका निर्विवाद प्रशासकको रुपमा चिनिन्छन् ।

गृहसचिवका लागि हाल संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव यादव कोइरालाले दौडधूप बढाएका छन् । गृह प्रशासन अन्तर्गत विभिन्न जिल्लामा सीडीओ र पछिल्लो समय गृह मन्त्रालयमा शान्ति सुरक्षा महाशाखामा काम गरेको अनुभव कोइरालासँग छ । 

हाल अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव महेश्वर न्यौपाने तथा सचिवहरू केदारबहादुर अधिकारी र सूर्यप्रसाद गौतमको समेत गृहसचिवको लागि दौडधूप बढाएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्