सुर्खेतको भेरीगंगा नगरपालिकामा टेण्डर आह्वान गरी खोलिएको बोलपत्रमा व्यापक अनियमितता भएको पाइएको छ।
छिन्चु तथा डुंगेखोलामा असोज १ गते गिट्टी, बालुवाका लागि टेण्डर आह्वान भएको थियो। उक्त ठेक्कामा ३६ वटा बोलपत्र खरिद भएको थियो। मंसिर १ गते १४ कम्पनीले बोलपत्र दाखिला गरेका थिए।
स्टार कन्सट्रक्सनले सबैभन्दा बढी ९१ लाख १९ हजार ९ सय ७८ रुपैयाँ एक पैसामा बोली लगाएको थियो। तर उक्त कम्पनीले बोलकबोल गरे पनि नवराज कन्स्ट्रक्सनमा ठेक्का सरेको थियो। उसले ८६ लाख ५१ हजार १ सय ५१ बोली लगाएको थियो। उसले पनि ठेक्का लागेन।
तेस्रो नम्बरमा एन्जल निर्माण सेवाले ८० लाख ५२ हजार ३ सय रुपैयाँमा बोलकबोल गरी टेण्डर पाउनुपर्नेमा न्यू हरि निर्माण सेवाले ६५ लाख ४९ हजार ४ सय ५५ रुपैयाँमा टेण्डरको सम्झौता गरेको थियो। ९१ लाखबाट नगरपालिका सञ्ग ठेक्का सम्झौता गर्दा करीब २६ लाख नोक्सानमा न्यू हरि निर्माण सेवाले ६५ लाखमा ठेक्का पाएको हो।
यस्तै, सोही मितिमा भेरी नदी तथा गोछे खोलामा पनि टेण्डर आह्वान भएको थियो। सो टेण्डरमा २९ जनाले बोलपत्र खरिद गरेकोमा ११ जनालेदाखिला गरे। उक्त ठेक्कामा न्यू हरि निर्माण सेवाले ७९ लाख ६७ हजार ९ सय ३० (भ्याट सहित) ठेक्का पायो। तर यहाँ पनि उसले नगर सँग ठेक्का सम्झौता गरेन।
दोस्रो नम्बरमा रहेको नवराज कन्स्ट्रक्सनले पायो। उनले ६३ लाख ९० हजार ७८२ रुपैयाँमा सम्झौता गरेको थियो। यसरी हेर्दा पहिलो नम्बरमा पाएको कम्पनीले क्रमशः ठेक्का सम्झौता नगर्ने बरु नगर पालिकालाई नोक्सान हुने गरी ठेक्का सम्झौता भएको हो।
यसैबीच, नगरपालिकामा सूचनाको हक प्रयोग गरेर सूचना माग गर्दा सूचना दिन नमिल्ने बरु सूचना आयोगमा जान भन्दै नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कमलप्रसाद पौडेले बताए। सूचनाको हक प्रयोग गरी मागिएको सूचनामा दुवै ठेक्काको पूर्ण विवरण, दाखिला जम्मा गरिएको बजेट, नगरपालिकाले गरेको धरौटी जफतको विवरण माग गरिएको थियो।
गत पुस १७ गते माग गरिएको सूचनामा दर्ता गरेपनि दिन नमिल्ने बरु गोपनियताको हक आकर्षित हुने बताउँदै सूचना आयोगमा जान चुनौती दिएका थिए।
मेयर र उपमेयर बेखबर
यता, कतिमा ठेक्का सम्झौता भएको हो भन्ने बारेमा मेयर र उपमेयर बेखबर रहेको पाइएको छ। ‘मलाई यसबारेमा केहि पनि थाहा छैन,’ उपमेयर रेणु आचार्यले भनिन्, ‘नगरपालिकालाई नोक्सान हुने गरी किन सम्झौता भएको हो म बुझ्छु।’
मेयर भुपेन्द्रबहादुर चन्दले पनि सहि सूचना दिनपर्ने बताए। ‘यहाँहरूले मागेको सूचना के कति कारण नदिइने भनिएको हो, म बुझ्छु,’ उनले भने, ‘नगरपालिकाका सबै सूचनामा हरेक नागरिकको जान्न पाउने हक हुन्छ।’
प्रमुख प्रशासकीय अधिकृत पौडेललाई कार्यालय प्रमुखसँग सूचना माग गर्न भनि दर्ता गरिएको पत्रमा तोक नलगाई दर्ता गरेको भन्दै दर्तामा बसेका महिला कर्मचारीलाई निवेदन दर्ता खारेज गर्न निर्देशन दिए। उनले कर्मचारीलाई दबाब दिएर दर्ता गर्न लगाएको भन्ने आरोपसहितको निवेदन लेख्न लगाए।