२३ असार २०८३, मंगलबार

हिन्दूहरूले देखाए उदारता : पाकिस्तानमा मन्दिर तोडफोड गर्नेलाई दिए माफी

माघ २०, २०७६
हिन्दूहरूले देखाए उदारता : पाकिस्तानमा मन्दिर तोडफोड गर्नेलाई दिए माफी

पाकिस्तानको सिन्ध प्रान्तमा एक हप्ताअघि मन्दिर तोडफोड गरिएकोमा हिन्दूहरूले तोडफोडमा संलग्न चारजना आरोपितलाई माफी दिएका छन् ।

ती आरोपितहरूले मन्दिरमा पसेर मूर्ति तोडफोड गरेका थिए । प्रहरीले उनीहरूलाई पक्राउ गरेर घटनामा लुटपाट मात्र उद्देश्य रहेको र साम्प्रदायिक सौहार्द्र बिगार्ने नियत नरहेको बतायो । 

आरोपित चारै किशोरहरूलाई हिन्दू समुदायले सद्भावना देखाउँदै माफी दिएको छ । 

किशोरहरूविरुद्ध दायर गरिएका सबै मुद्दा पनि हिन्दूहरूले फिर्ता लिएका छन् । त्यसपछि अदालतले चारैजनालाई रिहा गर्ने आदेश दिएको छ । ईशनिन्दाको आरोप लागेका हिन्दू शिक्षकलाई माफी दिन पनि हिन्दू समुदायले अपील गरेको छ । 

पाकिस्तानको छाछरो भन्ने ठाउँमा प्रेमो–जी–वेरी गाउँमा माघ १२ गते मन्दिरमा चोरी गरेर मूर्ति तोडफोड गरिएको थियो । देवप्रतिमाहरूलाई क्षतिग्रस्त गरेर मन्दिर अपवित्र समेत पारिएको थियो । 

घटनाको चौतर्फी निन्दा भएको थियो अनि हिन्दू समुदायका साथै राजनेताहरू र सामाजिक कार्यकर्ताहरूले यस घटनाप्रति गहिरो चिन्ता र आक्रोश प्रकट गरेका थिए । 

स्थानीय नागरिक प्रेम कुमारले प्रहरीसमक्ष उजुरी दिएपछि प्रहरीले अनुसन्धान गरेर १२ देखि १५ वर्ष उमेरका चार किशोरलाई पक्राउ गरेको थियो । ती सबैजना प्रेमो–जी–वेरी गाउँकै थिए । उनीहरूले मन्दिरको दानपात्रबाट पैसा चोरेको स्वीकार गरे । 

डन पत्रिकाले दिएको समाचारअनुसार, पक्राउपछि स्थानीय अदालतले आरोपितहरूलाई हैदराबादस्थित जुभेनाइल स्कूल पठाएको थियो । उनीहरूलाई शनिवार अदालतमा पेश गरिँदा निवेदक प्रेम कुमारले सद्भावनाअन्तर्गत चारैजनाविरुद्धको मुद्दा फिर्ता लिएको बताए । त्यसपछि अदालतले चारैजनालाई रिहा गर्ने आदेश दियो ।

salt training

कमेन्ट गर्नुहोस्