
गैरआवासीय नेपाली संघ (एनआरएनए) ले मानिसको अत्यधिक भीड हुने काठमाडौं उपत्यकाका ३ स्थानमा अत्याधुनिक सुविधासम्पन्न सार्वजनिक शौचालय निर्माण गर्ने भएको छ ।
शौचालय निर्माणका लागि काठमाडौं महानगरपालिकासँग स्थानको माग गरिएपनि निर्माणमा लाग्ने सम्पूर्ण खर्च भने संघले नै व्यहोर्ने छ ।
४ स्थानमा निर्माण गर्ने लक्ष्य रहेपनि पहिलो चरणमा कलंकी र कोटेश्वरमा शौचालय निर्माण गरिने छ । ती २ स्थानका लागि आगामी हप्ता बोलपत्र आह्वान गर्ने तयारी छ ।
त्यसैगरी संघले चाबहिलमा चाहे पनि निर्माणका लागि कामपाले स्वीकृति दिएको छैन । महाराजगञ्जमा भने दोस्रो चरणमा निर्माण गरिने एनआरएनका अध्यक्ष कुमार पन्तले जानकारी दिए । अध्यक्ष पन्तले भने, ‘निर्माण गर्न लागिएका सबै शौचालयहरु लैंगिक मैत्री, शारीरिक अपाङ्गमैत्री र बालबालिकाले समेत सहज प्रयोग गर्न सक्ने खालका हुन्छन् ।’
अध्यक्ष पन्तका अनुसार एउटा शौचालय निर्माणका लागि ६५ लाख रुपैयाँ लाग्ने छ । एउटा शौचालय निर्माणका लागि ३ महिना लाग्ने अनुमान गरिएको छ । बढीमा आगामी ८ महिनामा सर्वसाधारणले राम्रो शौचालय प्रयोग गर्न पाउनेछन् ।
शौचालय निर्माणपछि व्यवस्थापनको जिम्मा भने कुनै एक कम्पनीलाई दिने निर्णय भएको एनआरएनका सहायक कार्यक्रम अधिकृत कुनाल मिश्रले जानकारी दिए ।
राजधानी काठमाडौं सञ्चालनमा रहेका सार्वजनिक शौचालयमा पानी अभाव हँुदा अत्यन्तै फोहर र दुर्गन्धित छ । प्रायः शौचालयमा हात धुन साबुन पनि राखिएको पाइँदैन । सबैले प्रयोग गर्न नसक्ने हुनाले अत्याधुनिक शौचालय निर्माण गर्न लागिएको कार्यक्रम अधिकृत मिश्रले बताए । एक पटकमा बढीमा ७ जनासम्मले प्रयोग गर्न सक्ने गरी निर्माण गर्न लागिएको शौचालय प्रयोग गर्नका लागि न्यून शुल्क लाग्ने भएपनि कति भन्ने विषयमा निर्माणपछि मात्र निश्चित हुने जनाइएको छ ।
६९ स्थानमा सिफारिश
४ वर्षदेखि सार्वजनिक शौचालय निर्माणबारे छलफल गर्दै आएको काठमाडौं महानगरपालिकाले पनि सम्पदा क्षेत्र र मानिसको अत्यधिक भीड हुने स्थानलाई पहिलो प्राथमिकतामा राखेर सार्वजनिक शौचालय निर्माण गर्ने तयारी गरेको छ । नयाँ शौचालय निर्माणसँगै मौजूदा सार्वजनिक शौचालयको गुणस्तर सुधार गरिने, तिनमा पहुँच बढाइने तथा पेट्रोल पम्पलगायत सार्वजनिक सेवा प्रदायक निकाय र होटल, रेष्टुराँलगायत निजी तथा व्यावसायिक स्थानमा सञ्चालन भइरहेका शौचालयलाई स्तरोन्नति गरिने कामपा उपप्रमुख हरिप्रभा खड्गीको भनाइ छ ।
अघिल्लो वर्ष नै सामाजिक उत्तरदायित्वअन्तर्गत सार्वजनिक शौचालय निर्माणको काम अघि बढाउन उपप्रमुख श्रेष्ठलाई जिम्मेवारी दिइएको थियो । चालू आर्थिक वर्षमा कामपाले सार्वजनिक शौचालय निर्माणका लागि ३ करोड विनियोजन गरेको छ ।
पछिल्लो समय कामपाले शहरी योजना आयोग गठन गरी सार्वजनिक शौचालय निर्माणका लागि काम अघि बढाएको जनाए पनि हालसम्म ढाँचा, लागत र स्थानको अध्ययन मात्र गरेको छ ।
शौचालय निर्माणका लागि योजना आयोगसहित विभिन्न संघसंस्थाले केही महिनाअघि गरेको अध्ययन अनुसार मानिसको संख्याका आधारमा सार्वजनिक शौचालय अत्यन्तै कम रहेकाले निर्माणको काम शुरू गर्नुपर्ने छ । शौचालय सञ्चालनका लागि कामपासँग जग्गा कम भएपनि विभिन्न सरकारी तथा संस्थानका जग्गा भाडा वा अन्य विधिबाट प्राप्त गरी सार्वजनिक शौचालयको विस्तार गर्न पहल गरिहाल्नुपर्ने अध्ययनले देखाएको छ । हाल कामपामा ५८ सार्वजनिक शौचालय सञ्चालनमा छन् । सञ्चालमा रहेकामध्ये २८ प्रयोगमा रहेको र तिनमा पनि सरसफाइको अभाव छ ।
नेपाल आयल निगम, कर्मचारी सञ्चय कोष, सांस्कृतिक संस्थान, गुठी संस्थान, त्रिभुवन विश्वविद्यालय लगायत संस्थासँग सहकार्य गरी सार्वजनिक शौचालय निर्माण गर्न सकिने प्रतिवेदनमा उल्लेख छ ।
अध्ययनअनुसर आवश्यकता हेरी ६९ स्थानमा नयाँ शौचालय निर्माण गर्न सकिने छ । निर्माणका लागि ६ नमूना तयार भएको छ । सबै नमूनाको अध्ययन गरी कम लागतमा टिकाउ शौचालय निर्माण कामपाको छनोटमा रहने उपप्रमुख खड्गीले बताइन् । अध्ययन अनुसार सार्वजनिक शौचालय निर्माणका लागि आवश्यक स्थानमा टेकु, सानेपा पुल नजिक, कालीमाटी, कलंकी, सीतापाइला, बालाजु, माछापोखरी, गँगबुँ, महाराजगञ्ज, सुकेधारा, चाबहिल, मित्रपार्क, जयबागेश्वरी, गौशाला, तीनकुने, कोटेश्वर, नयाँबानेश्वर, बबरमहल, थापाथली, त्रिपुरेश्वर, सुनधारा एनएसीतर्फ, जुद्ध शालिक वरपर, हनुमानढोका, जमल, लैनचौर, स्रोह्रखुट्टे, बल्खु तथा कुलेश्वर लगायतलाई चयन गरिएको छ ।