०८ साउन २०८३, शुक्रबार

सरकारले जे गर्दैछ, सही छ : मन्त्री भट्टराई

माघ २०, २०७६
सरकारले जे गर्दैछ, सही छ : मन्त्री भट्टराई

संस्कृति, पर्यटन तथा नागरिक उड्डयमन्त्री योगेश भट्टराईले केपी शर्मा ओली नेतृत्वको सरकार सही बाटोमा रहेको बताएका छन् ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) तनहुँले सोमवार दमौलीमा आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले सरकार गलत बाटोमा नरहेको जिकिर गरे ।

मन्त्री भट्टराईले सरकारको बाटो, दिशा र गन्तव्य सही रहेको बताउँदै भने, ‘सरकारको बाटो सही हुँदाहुँदै पनि कहिलेकाहीँ अप्ठ्यारो बाटो आउँछ, अवरोध आइपर्छ, त्यस्ता अवरोध हटाउँदै अगाडि बढ्नुपर्छ ।’

मन्त्री भट्टराईले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई कुशल र अनुभवी पाइलटको संज्ञा दिँदै उनको नेतृत्वको वर्तमान सरकारको जहाजले सही अवतरण गर्ने पनि बताए ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य समेत रहेका मन्त्री भट्टराईले नेकपाको आकाश सफा र धर्ती उर्वर रहेको बताए । पार्टी एकीकरणलाई भावनात्मक बनाउन हालै सम्पन्न केन्द्रीय कमिटी बैठक सफल भएको भन्दै उनले बैठकले पार्टीलाई अझ सुदृढ र एकताबद्ध बनाउन सफल भएको चर्चा गरे ।

‘बैठक अगाडि नेकपाको आकाशमा केही बादलहरू थिए, हावाहुरी पनि चलेको थियो,’ मन्त्री भट्टराईले भने, ‘बैठकले ती बादलहरू सफा गरिदिएको छ, नेकपाभित्र अब हावाहुरी चल्नेवाला छैन, नेकपाको आकाश सफा छ, धर्ती उर्वर छ ।’

केन्द्रीय कमिटी बैठकले ३ महिने अभियान घोषणा गरेको जानकारी गराउँदै उनले अभियानमा सबै नेताहरू गाउँ फर्कने र कार्यकर्ताको समस्या सुन्ने बताए । सो अभियानमार्फत पार्टीभित्रका समस्या समाधान गरिने मन्त्री भट्टराईले बताए ।

विक्रम संवत् २०७७ सालको चैत महिनामा पार्टीको महाधिवेशन घोषणा गरिएको र त्यसले पार्टीलाई थप मजबुद बनाउने उनको भनाइ थियो । मन्त्री भट्टराईले पार्टीको महाधिवेशनलगत्तै ३ तहको निर्वाचन हुने भएकाले ३ वटै तहको चुनावमा अहिलेको भन्दा पनि राम्रो परिणाम निकाल्न सबै कार्यकर्ता लाग्नुपर्नेमा जोड दिँदै बहुमत प्राप्त सरकार भएकाले जनताको अपेक्षा धेरै रहेको र त्यसलाई पूरा गर्न सरकार लागिपरेको बताए ।

salt training

कमेन्ट गर्नुहोस्