
मोबाइलको मेमोरी कार्डका विषयमा नन्दसँग सामान्य विवाद हुँदा श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमानसहित परिवारका ४ सदस्य पक्राउ परेका छन् ।
धनुषाको औरही गाउँपालिका वडा नम्बर २ देउरी टोलका अनिलकुमार पासवानले परिवारका सदस्यहरूसँग मिलेर आफ्नी श्रीमती २२ वर्षीया चिन्तामणि पासवानको हत्या गरेको प्रहरीले जनाएको छ ।
प्रहरीले मृतक चिन्तामणिका ३० वर्षीय श्रीमान अनिल, ५५ वर्षीय ससुरा राधाकृष्ण, ४५ वर्षीया सासू कमला र २० वर्षीया नन्द पुनितालाई पक्राउ गरी सोमवार सार्वजनिक गरेको छ ।
यही माघ १८ गते दिनको १ बजेको समयमा घटेको उक्त घटनाको अनुसन्धानका लागि ४ जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक (एसपी) रमेशकुमार बस्नेतले जानकारी दिए ।
‘मोबाइलको मेमोरी कार्डका विषयमा मृतक पासवानको नन्द पुनितासँग वादविवाद भई झै–झगडा हुँदा ती चारैजना प्रतिवादीहरूले कुटपिट गर्नुका साथै घाँटी थिचेर हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ,’ एसपी बस्नेतले भने, ‘थप कुरा मृतकको पोस्टमार्टम रिपोर्ट आएपछि खुल्नेछ ।’
हत्यालाई आत्महत्या देखाउन प्रयास
प्रहरीका अनुसार उनीहरूले चिन्तामणिको मृत्युलाई आत्महत्या देखाउन प्रयास गरेका थिए ।
निजको मृत्यु भएपछि झुण्डिएर घाइते भएको अवस्थामा फेला परेको भनी गाउँमा हल्लाखल्ला गर्दै अटो रिक्सामा राखेर अस्पताल समेत पुर्याएको प्रहरीले जनाएको छ ।
‘जनकपुरस्थित प्रादेशिक अस्पतालमा रहेका प्रहरीलाई शंका लागेपछि अनुसन्धान गर्दै जाँदा हत्या भएको कुरा खुल्न आएको थियो,’ एसपी बस्नेतले भने, ‘अनि धनुषाको विभिन्न स्थानमा लुकिछिपी बसिरहेको अवस्थामा प्रतिवादीहरूलाई पक्राउ गर्न सफल भएका हौं ।’
पक्राउ परेकाहरूले प्रहरीसँगको प्रारम्भिक बयानमा हत्या स्वीकारेको प्रहरीले जनाएको छ ।