
चीनमा कोरोनाभाइरसको महामारी फैलिँदा जाँदा फेस मास्क लगाउन नमान्ने एक महिलालाई सुपरमार्केटबाट घिसार्दै बाहिर निकालेको र भुइँमा पछारेको भिडियो सार्वजनिक भएको छ ।
बुधवार जारी गरिएको मोबाइल फोन फूटेजमा सरसामान किन्न गएकी महिलालाई बर्दीमा रहेका दुईजना प्रहरी अधिकारीले स्पेस सुपरमार्केटमा घिसारेको देखिन्छ । शेनजेन शहरमा भएको घटनामा किउ नामक ती महिलाले प्रहरीको प्रतिकार गरेकी थिइन् ।
स्थानीय सरकारले गुआङदोङ प्रान्तका ११ करोड ३० लाख मानिसलाई माघ ११ देखि मास्क लगाएर हिँड्न उर्दी जारी गरेको थियो । मास्क नलगाई सार्वजनिक स्थानमा देखिने व्यक्तिले दण्डनीय अपराध गरेको ठहरिने स्थानीय सरकारको घोषणा छ ।
सुपरमार्केटका कर्मचारीहरूका अनुसार, किङके ब्यानर सेन्टरमा किउलाई अन्य ग्राहकहरूले फेस मास्क लगाउन नत्र सुपरमार्केट छोडेर जान भनेका थिए ।
त्यसपछि शाब्दिक झैझगडा शुरू भएको र त्यसक्रममा किउले अन्य ग्राहकलाई अनि घटनास्थलमा आएका प्रहरीहरूलाई पनि थुकेको बताइएको छ ।
भिडियोमा उनले आफूलाई पक्राउ गर्न आएका प्रहरी अधिकारीलाई लात हानेको र उनीहरूले उनको हात पछिल्तिर लगेर बाँधेको अनि मानिसहरूका अगाडि उनलाई भुइँमा पछारेको देखिन्छ ।
अधिकारीहरूले किउलाई काङनिङ अस्पताल लगिएको अनि उनलाई कोरोनाभाइरस नरहेको पुष्टि भएको बताए ।
उनलाई फेस मास्क लगाउन अस्वीकार गरेकोमा कारावास सजाय दिइन्छ कि दिइँदैन भन्ने स्पष्ट भइसकेको छैन ।
स्पेस सुपरमार्केटका एक प्रवक्ताले आफ्ना सबै पसलहरूलाई दुई–दुई घन्टामा सफा गर्ने गरेको जानकारी स्थानीय सञ्चारमाध्यमलाई दिए ।