
कैलाली, १४ फागुन-टीकापुर घटनाका फरार अभियुक्त रेशम चौधरीले आत्मसमर्पण गरेका छन् । उनी जिल्ला अदालत कैलालिमा हाजिर भएर आत्मसमर्पण गर्न हाजिर भएका हुन् ।
चौधरी कैलाली एक बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए ।
वि.सं. २०७२ भदौ ७ गते सात जना प्रहरी र एक जना नाबालक मारिएको घटनाका आरोपी चौधरीविरुद्ध कर्तव्य ज्यानसम्बन्धी मुद्दा कैलाली जिल्ला अदालतमा विचाराधीन छ ।
कैलाली निर्वाचन क्षेत्र नं. १ बाट राष्ट्रिय जनता पार्टीका प्रतिनिधि सभा सदस्यका उम्मेदवार रेशमले तीन गुणा मतान्तरले विपक्षीलाई पराजित गरे । रेशमले ३४ हजार तीन सय ४१ मत पाउँदा निकटतम प्रतिद्वन्द्वी वामगठबन्धनकी उम्मेदवार गरिमा शाह १३ हजार चार सय छ मत पाएकी थिइन् ।
सांसदमा जितेपनि प्रहरीको खोजीमा रहेका चाैधरी सांसदको प्रमाणपत्र लिन अाएका थिएनन् ।
को हुन् रेशम चौधरी ?
कैलाली जिल्लाको जानकी गाउँपालिका ६ (साविक दुगौली गाविस) जगतपुरमा २०३४ साल असोज २१ गते बुवा लालविर चौधरी र आमा सुल्फी देवी थारुनीको कोखबाट जन्मेका उनी बाल्यकालदेखि नै खेलकुद, साहित्य, गायनदेखि वाककलामा रुची राख्थे
प्राराम्भिक शिक्षा राष्ट्रिय प्राथमिक विद्यालय पटाभार बर्दियाबाट र माध्यमिक शिक्षा टीकापुरस्थित विरेन्द्र विद्या मन्दिरबाट लिएका उनी त्रिभुवन विश्वविद्यालयबाट स्नाकोत्तरसम्मको शिक्षा हासिल गरेका छन् ।
०४७ सालमा माध्यमिक स्तरको थारु भाषाको जोग्नी साहित्यिक पत्रिकाको प्रधान सम्पादक रहेका उनी ०५१ सालमा ‘एकठो विरहीन’ नामक कविता संग्रह र भुवर विहान नामक थारु भाषाको गीति क्यासेट बजारमा ल्याए । नेपाली भाषामा उनले यति धेरै गीति क्यासेट बजारमा ल्याए कि, उनले आफै औंला भाँची गन्नुपर्ने हुन्छ । उनले हालसम्म ९३ वटा सांगितिक एल्बम निकालेको बताउँछन् ।
साहित्य र पत्रकारितामा दख्खल राख्ने उनको रेडियो नेपाल, नेपाल टेलिभिजन, रेडियो सागरमाथामा लामो समय पत्रकारिता गरेको अनुभव छ । उनको लेखन, निर्देशन, तथा अभिनय समेत रहेको थारु चलचित्र कमैया अब्बल मानिन्छ ।
बर्दियाको भुरी गाउँ, गुलरियालगायत तीन ठाउँमा उनको फूलवारी एफएम सञ्चालनमा छ । तर टीकापुर घटनापछि टीकापुरमा रहेको उनको एफएममा आगजनी भएपछि हाल बन्द रहेको छ । आजजनी घटनामा १ करोड ७४ लाख क्षतिपूर्ति पाएपछि उनले सर्वप्रथम टीकापुरस्थित बन्द एफएम रेडियो स्टेशन खोल्ने बताएका थिए । तर बाहिर आउने वातावरण नबनेका कारण सम्भव भएन ।
गायन तथा साँगितिक क्षेत्रमा पनि अब्बल मानिने उनी रेडियो नेपालबाट गीत गाउने पहिलो थारु गायक तथा क श्रेणीको गायक मानिन्छन् । खेलकुदमा अति नै शौखिन उनी काराँतेमा थ्री डन गरेका छन् । भने खेलमै स्थायी जागिरे समेत भए ।
जुनकारण उनलाई राष्ट्रिय प्रतिभा पुरस्कार, बहुमुखी प्रतिभा पुरस्कार, गोरखा दक्षिणबाहु, ठाकुरनाथ स्मृति पुरस्कार, दैवी प्रकोप उद्धार पदक, शुभ राज्याभिषेक पदकलगायत थुप्रै राष्ट्रिय पुरस्कार तथा पदकबाट सम्मानित भएका छन् ।