
काठमाडौं, ३ जेठ– नेकपा एमालेसँग पार्टी एकता भएपछि बन्ने नेपाल कम्युनिस्ट पार्टीको स्थायी समितिमा नेकपा माओवादी केन्द्रबाट १८ जना रहने भएका छन् ।
एमालेबाट २५ र माओवादी केन्द्रबाट १८ गरी ४३ सदस्यीय स्थायी समिति बनाउन दुई दल सहमत भइसकेका छन् ।
माओवादीको केन्द्रीय समिति जम्बो छ । केन्द्रीय कार्यालय भनिने स्थायी समितिमा पनि ३५ जना छन् । अहिले रहेको केन्द्रीय कार्यालयबाट १८ जना मात्र छानिने छन् ।
माओवादी निकट स्रोतका अनुसार स्थायी समितिमा पुष्पकमल दाहाल ‘प्रचण्ड’, नारायणकाजी श्रेष्ठ, रामबहादुर थापा र अमिक शेरचन पर्नेछन् ।
यस्तै टोपबहादुर रायमाझी, जनार्दन शर्मा, वर्षमान पुन, देव गुरुङ र पम्फा भुसाल स्थायी समितिमा छानिने पक्का भएको छ । गिरिराजमणि पोखरेल, मातृका यादव, अग्नि सापकोटा र हरिबोल गजुरेल स्थायी समितिमा पर्नेछन् ।
ओनसरी घर्ती, राम कार्की, हरिबोल गजुरेल, लेखराज भट्ट, हितराज पाण्डे, मणि थापा, शक्ति बस्नेत, हितमान शाक्य, चन्द्रप्रकाश खनाल, देवेन्द्र पौडेल, दीनानाथ शर्मा र गणेश साहमध्येबाट केही नाम स्थायी समितिमा पर्ने सम्भावना छ ।
नेकपा संयुक्तबाट एकीकरण गरेर आएका गणेश साहलाई स्थायी समितिमा पार्ने सम्भावना रहेको माओवादी स्रोतले बतायो ।
कृष्णबहादुर महरा सभामुख बनेका कारण उनी पार्टीको कमिटीमा रहने छैनन् ।
नेकपामा माओवादीबाट २ सय जना केन्द्रीय सदस्य रहने छन् । २ जय जनामा पर्नको लागि माओवादी भित्र दौडधुप शुरु भएको छ ।