
काठमाडौं, ८ असार –प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका एक सांसदले मूल्य वृद्धिले नेपालमा वर्ल्डकप जितेको भन्दै संसदमा मूल्यवृद्धिको विरोध गरेका छन् ।
प्रतिनिधिसभाको शुक्रवारको बैठकमा कांग्रेस सांसद प्रकाश रसाइलीले ‘सुखी नेपाली समृद्ध नेपाल’ भन्ने सरकारी नारालाई ‘दु:ख' नेपाली मूल्य वृद्धि नेपाल’को नाराले गिज्याइरहेको बताएका हुन् ।
‘सडकमा आवाज उठ्न लागेको छ, मूल्य वृद्धिले वर्ल्डकप जित्यो, चुलोचौका बाटोघाटो र चौतारामा मूल्य वृद्धिका लागि वर्ल्डकप जित्ने भयो भन्ने सुनिन्छ,’ उनले भने, ‘अर्थमन्त्रीजीले संसदमा सुखी नेपाल, समृद्ध नेपाली भन्नुभयो, सडकमा दु:खी नेपाली मूल्य वृद्धि नेपाल आवाज उठाइरहेका छन् ।’
दिनमा दुई गुना रातमा चौगुना मूल्य वृद्धिले सर्वसाधारण प्रताडित भएको उनले बताए । ‘मूल्यवृद्धि भयो भनेर सडकमा आएका राजनीतिक दलका कार्यकर्तालाई गृहमन्त्रीको निर्देशनमा दमन गरियो । पार्टी कार्यालयमा तोडफोड भयो,’ उनले भने, ‘हामीले त्यस्तै सरकारको परिकल्पना गरेका हौँ ?’
गृहमन्त्री सिंघम होइनन्, डन हुन् !
गृहमन्त्रीलाई कतिपयले सिंघम भनेको भन्दै सांसद रसाइलीले उनी सिंघम नभएर डन भएको बताए ।
‘सामाजिक सञ्जालमा आइरहेका छ, गृहमन्त्रीलाई उहाँकै नेताले सिंघम भन्नुभएछ । सिंघम भन्ने हिन्दी सिनेमामा प्रहरी प्रशासकको नाम हो । तर उहाँका क्रियाकलाप हेर्दा उहाँलाई डनको संज्ञा दिन थाले,’ रसाइलीले भने ।
यसअघि प्रचण्डले गृहमन्त्री थापालाई सिंघम नबन्न चेतावनी दिएको भन्ने अफवाह फैलिएको थियो ।
उनले सरकार नेपाली जनताप्रति उत्तरदायी नभएको आरोप लगाए ।
'सडमा शान्तिपूर्ण आन्दोलन गरिरहेका विद्यार्थीलाई हातखुट्टा भाचिनेगरी पार्टी अफिस र कलेजमा गएर दमन गरिरहेकोले सरकारप्रति जनताको भरोसा छैन्,' उनले भने ।