
काठमाडौं– नेपाली कांग्रेसले बिमस्टेक राष्ट्रहरुले गर्ने भनिएको सैन्य अभ्यासबारे सरकारसँग जवाफ माग्ने भएको छ । कांग्रेस नेता मिनेन्द्र रिजाले सैन्य अभ्यास गर्ने विषय गम्भीर भएकाले किन गर्न लागियो भन्ने कारण माग गरिने बताएका हुन् ।
राजधानीमा आयोजित एक साक्षात्कारमा कांग्रेस नेता रिजालले सैन्य अभ्यासबारे संसदमा प्रधानमन्त्रीसँग जवाफ मागिने र त्यसपछि बल्ल धारणा बनाउने बताए ।
आर्थिक र प्राविधक सहयोगका लागि गठन भएको बिमस्टेक राष्ट्रहरुले किन सैन्य अभ्यास गर्नुपर्यो भनेर रिजालले प्रश्न गरे ।
सैन्य अभ्यासका कारण देशभक्तिमाथि आघात पुग्यो भने आफूहरुले स्विकार गर्न नसकिने चेतावनी रिजालले दिएका छन् । भदौ २५ देखि ३१ गतेसम्म भारतको पुणेमा विमस्टेक राष्ट्रहरुले सैन्य अभ्यास गर्दैछन् । सैन्य अभ्यास कार्यक्रमा नेपाल, भारत, श्रीलंका, भुटान, बंगलादेश, म्यान्मार र थाइल्याण्डका ३०र३० सैन्य अधिकारीले सहभागिता जनाउनेछन् ।
“सरकार सफल हुने बाटोमा छैन । चुनौतिका साथ भन्छु, अहिलेसम्म यो सरकारले के चाँही राम्रो काम गरेको छ, देखाओस्” रिजालले भने । दुई तिहाईको सरकारलाई काम गर्नका लागि अनुकूल वातावरण भएपनि त्यसको सदुपयोग गर्न नसकेको रिजालको तर्क थियो ।