
काठमाडौं – सर्लाही जिल्लाको रामनगर गाउँपालिका वडा नम्बर ४ का वडाध्यक्ष रामनरेश महतोको घरमा बिहान ९ बजे १ जना व्यक्ति आए । उनलाई सोधियो – वडा कार्यालय कतिबेला आउनुहुन्छ ? महतोले जवाफ दिए – १५–२० मिनेटमा आउँछु ।
तर, ती व्यक्ति गएपछि वडाध्यक्षलाई अनिवार्य अर्काे काम आयो । उनी केही ढिला ११ बजेतिर घरबाट कार्यालयतिर प्रस्थान गरे । कार्यालय नपुग्दै बाटोमै महतोमाथि केही व्यक्तिले आक्रमण गरे । कुटपिट गरेर घाइते बनाए ।
वडाध्यक्ष महतो अहिले अस्पताल भर्ना भएर उपचार गराइरहेका छन् । महतोको खुट्टा र टाउकोमा चोट लागेको छ । ‘म अहिले अस्पतालमै उपचार गराइरहेको छु, मेरो खुट्टा भाँचिएको छ, टाउकोमा १० टाका लागेको छ,’ टेलिफोनमा महतोले भने ।
वडाध्यक्षमाथि कुटपिट भएको भोलिपल्ट वडाध्यक्षका काका रामविलाश महतो गोली प्रहारबाट मारिएका छन् । उनीसँगै अन्य ७ जना गोली लागेर घाइते भएका छन् । गोलीकाण्डपछि गाउँ त्रसित भएको छ भने सुरक्षाका लागि गाउँमा प्रहरी परिचालन भएको छ ।
नेकपाका कार्यकर्तामाथि कांग्रेसको आरोप
वडाध्यक्ष महतोले आफूमाथि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कार्यकर्ताले कुटपिट गरेको र काकाको हत्या गरेको दाबी गरेका छन् । घाइते अवस्थामा अस्पतालमा उपचाररत रहेका वडाध्यक्ष महतोले आफूलाई वडाध्यक्ष भएको देख्न नचाहनेहरूले पटक–पटक आक्रमण गर्ने गरेको बताए ।
रामपुर गाउँपालिका रहेको क्षेत्रबाट निर्वाचित प्रतिनिधिसभा सदस्य अमरेशकुमार सिंहले वडाध्यक्ष लगायतलाई कम्युनिस्ट पार्टीमा प्रवेश गराउन दबाब दिइएको र नमानेपछि कुटपिट र गोलीकाण्ड गरिएको दावी गरे । ‘कांग्रेस छाडेर कम्युनिस्ट पार्टीमा आउन दबाब दिने गरिएको थियो,’ सांसद सिंहले भने, ‘नमानेपछि कुटपिट र गोली चलाएका हुन् ।’
सांसद सिंहले कुटपिटदेखि गोलीकाण्डमा स्थानीय ४ जनाको नाम लिएका छन् । श्रीनारायण राय, शुभनारायण राय, धर्मेन्द्र शाह, उपेन्द्र राय लगायतका व्यक्तिको संलग्नतामा कुटपिटदेखि गोलीकाण्ड भएको उनले दावी गरे ।
सिफारिस दिन भेदभाव गरेपछि आक्रोश बढ्यो : नेकपा
वडाध्यक्षले वडा कार्यालयबाट दिनुपर्ने सेवामा भेदभाव गरेपछि कार्यकर्तामा आक्रोश बढेर गम्भीर रुप लिएको नेकपाका नेता तथा पूर्वसभासद् शिवपुजन रायले बताए । ‘कम्युनिस्ट समर्थकलाई वडाध्यक्षले जन्मदर्ता, विवाहदर्ता, मृत्युदर्ता, नागरिक सिफारिस लगायत समेत दिँदैन्थे,’ उनले भने, ‘आक्रोश बढेपछि हिजो (सोमवार) वडाध्यक्षमाथि केही केटाहरूले कुटपिट गरेछन् ।’
थोरै संख्यामा रहेका कम्युनिस्ट कार्यकर्ता र समर्थकमाथि वडामा पक्षपात हुने गरेको पूर्वसभासद् रायले दाबी गरे । ‘वडाध्यक्षमाथि कुटपिट भएको घटनालाई लिएर आज (मंगलवार) बिहानैदेखि कांग्रेस कार्यकर्ताले नेकपाका कार्यकर्तामाथि आक्रमण शुरू गरेछन्, त्यसपछि प्रतिकार गर्दा गोली प्रहार भएको भन्ने खबर आएको छ ।’
गोली प्रहार गर्नेमाथि कारवाही हुँदै जाने भएपनि वडास्तरमा कम्युनिस्ट कार्यकर्ता असुरक्षित रहेको उनले दाबी गरे ।
वडाध्यक्ष महतोले भने आफूले राजनीतिक रुपमा कसैमाथि पक्षपात गर्ने नगरेको दाबी गरेका छन् । ‘म झूटा बोलिरहेको छैन, छानबिन गर्न आग्रह गर्छु, मैले कसैलाई भेदभाव गरेको छैन,’ महतोले भने, ‘म अल्पसंख्यक जातिको मान्छे वडाध्यक्ष भएको मन नपराउनेहरूले आक्रमण गरेका हुन् ।’