
काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले पशुपति शर्माको गीत 'लुट ...' का सम्बन्धमा प्रतिक्रिया दिएका छन् ।
सुदूरपश्चिम प्रदेश सभाको बुधवारको बैठकमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले उक्त गीतका सम्बन्धमा सरकारले केही नभनेको बताएका हुन् ।
शर्माको व्यंग्यात्मक गीतको भावलाई बंग्याउँदै प्रधानमन्त्री ओलीले भने- हामी नचाहिने कुरालाई प्रोत्साहित गर्छौं ।
एउटाले गीत बनायो रे, मैले सुनेँ! लुट, लुटऽऽ, गरी खाएर केही काम लाग्दैन, लुटेर खा भाइ, लुटऽऽ ।
जनताले मन पराएनन् तिम्रो गीत भनेपछि उनले युट्युबबाट हटाए अरे ।
भावनामा बगेर एउटा गीत लेखे । युट्युबमा पनि हाले । सबैले राम्रो गरेनौ भाइ भनेपछि हटाए त, सिद्धियो नि कुरा ।
सरकारले केही भन्या छैन, सरकारले किन केही भन्नुपर्छ ?
सरकार यत्ति भन्छ, सुबाटोमा हिँडौं ।
अमरेश सिंहप्रति कटाक्ष
सो अवसरमा प्रधानमन्त्री ओलीले कांग्रेस सांसद अमरेशकुमार सिंहप्रति पनि कटाक्ष गरे ।
'सांसदले त्यस्तो राम्रो महान् गीत लुटेर खाने कुरा जस्तो गतिलो नेपालीलाई सुहाउने गीत किन हटाउने युट्युबबाट ? राख्नुपर्छ । हाम्रो त बाटै त्यही हो । २५ हजार त्यस गीतबापत पुरस्कार दिन्छु, भने अरे,' प्रधानमन्त्री ओलीले भने- 'अचम्म लाग्छ मलाई, कता जान खोज्दैछौं हामी ?'
सांसद सिंहले प्रतिनिधिसभा बैठकमा बोल्दै शर्मालाई आफ्नो तलबबाट २५ हजार रुपैयाँ पुरस्कार दिने घोषणा गरेका थिए ।