काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले हालै सरकारसँग ११ बुँदे सम्झौता गरेका सीके राउतको प्रशंशा गरेका छन् । सीके राउत पृथकतावादी आन्दोलन छाडेर मुलधारको राजनीतिमा आएको भन्दै ओलीले यो सरकारको सक्रियताको परिणाम भएको पनि टिप्पणी गरेका छन् ।
आइतबार नयाँ वर्षको अवसर पारेर देशबासीको नाममा सम्बोधन गर्दै ओलीले भने, ‘अलग देश र अलग राष्ट्रिय झण्डाको अभियान चलाउने समूह मूलधारको राजनीतिमा आउनु सामान्य कुरा होइन । अब पृथकतावादको अन्त्य भएको छ ।’
शान्ति समृद्धिको अर्को पूर्वसर्त भएको भन्दै ओलीले विप्लवको गतिविधिको कडा आलोचना गरे ।
विप्लवको आपराधिक गतिविधिलाई नियन्त्रण गर्न राष्ट्रिय अभियान सुरु भइसकेको भन्दै ओलीले आतंकबाट देशलाई छिट्टै मुक्त गरिने पनि बताए ।
उनले विप्लव समूहलाई हिंसाको बाटो नरोज्न पनि आग्रह गरे ।