
काठमाडौं – पाँचथरको मिक्लाजुङ गाउँपालिका वडा नम्बर– ३ आरुबोटेमा गएराति दुई परिवारका ९ जनाको विभत्स हत्या भयो ।
एक किशोरीले भागेर ज्यान जोगाइन् । उनको हात भाँचिएको छ, घाइते अवस्थामा छिन् ।
हत्याको घटनाले देश नै शोकमा डुबेका बेला मंगलबार मध्याह्न अर्को खबर आयो– मिक्लाजुङकै ८ नम्बर वडामा एक व्यक्ति झुण्डिएको अवस्थामा फेला परे ।
प्रहरी टोली त्यतैतर्फ सोझियो । पछि थाहा भयो झुण्डिएको अवस्थामा मृत भेटिएका व्यक्ति गएराति विभत्स ढंगले हत्या गरिएका बमबहादुर फियाकका कान्छा ज्वाइँ मानबहादुर माखिम थिए ।
यो घटना हत्याकाण्डसँग पारिवारिक रूपमा जोडिएपछि सबैको ध्यान मानबहादुरतिरै सोझिएको छ । उनको शव अझै पनि करमको रुखमा झुण्डिएको अवस्थामा छ ।
मंगलबार मृत भेटिएका मानबहादुरको नाताले भतिजा पर्ने नेलकम माखिमले उनीबारे लोकान्तरलाई केही तथ्य बताएका छन् ।
नेलकमले लोकान्तरसँग फोनमा गरेको कुराकानीको सम्पादित अंश :
मेरो नाम नेलकम माखिम हो । मानबहादुर नाताले मेरो काका पर्नुहुन्छ । आफ्नै काका होइन खलकको । गएराति आरुबोटेमा जुन घटना भयो त्यो काकाको ससुराली घर हो ।
काकाको घर वडा नम्बर ७ मा पर्छ । म वडा नम्बर ६ मा बस्छु । घरसँगै नभएपनि उहाँसँग भेटघाट र कुराकानी भने भइरहन्थ्यो ।
काकाको शव वडा नम्बर ७ र ८ को सीमानामा पर्ने झोलुङ्गे पुलको पारी करमको बोटमा झुण्डिएको छ । हामी वारी छौं (वडा नम्बर ७ तर्फ) ।
काका र काकी (मनकुमारी फियाक जसको गएराति हत्या भयो)बीच पछिल्लो समय राम्रो सम्बन्ध थिएन । काकी माइतीमा नै बस्नुहुन्थ्यो ।
गत वर्ष साउनमा उहाँहरूको झगडाको केश प्रहरीसम्म पनि पुगेको थियो । म पनि गएको थिएँ । मिलापत्र गरेर विवाद टुंग्याइएको थियो ।
त्यसयता उहाँहरूको डिभोर्सको प्रक्रिया अघि बढेको थियो । काकीले सम्पत्ति सहितको डिभोर्स माग्नुभएको थियो ।
काका पनि डिभोर्स दिन त तयार हुनुहुन्थ्यो, तर सम्पत्ति भने दिन चाहनुभएको थिएन । शायद यही विषयमा उहाँहरूबीच खटपट भइरहन्थ्यो ।
काका-काकीको डिभोर्सको मुद्दा जिल्ला अदालतमा छ । उहाँहरू तारेख धाइरहनुहुन्थ्यो ।
झगडाको खास कारण त थाहा भएन, तर काकीको माइतीतर्फ दाजुभाइ हुनुहुन्न त्यसैले काकीले माइतीमै घरज्वाइँ बनेर बस्नुपर्छ भन्नुभएको जस्तो लाग्छ ।
काकी माइतीमै बस्ने घर नआउने भएपछि उहाँहरूको सम्बन्ध राम्रो हुन सकेन । काका विदेश पनि बसेर आउनुभएको हो । पछिल्लो २ वर्षयता भने उहाँ घरमै हुनुहुन्थ्यो ।
पछिल्लो एकदुई दिनयता भेट भएको थिएन । आज राति एक्कासि मलाई फोन आयो । रातिको ३ बजे फोन गर्नुभएका काकाले मलाई भन्नुभयो– मेरो पुरानो रोग बल्झियो । म उपचारका लागि झापा झरेको छु । औषधि खानका लागि मलाई ५ हजार चाहियो । भाइ आउँछ, उसलाई ५ हजार दिएर पठाइदे ।
मैले हुन्छ, पठाइदिउँला भनेर फोन राखेँ । अहिले उहाँ यस्तो अवस्थामा भेटिनुभयो ।
बुवाआमा बूढो भइसक्नुभएको छ, ७५/७६ वर्षको । उहाँका दुई भाइ छन् । एक बहिनी पनि छन्, उनको विवाह भइसके पनि माइतीमा नै छिन् ।
दुई दिदीहरू विवाह भएर गइसक्नु भएको छ । आर्थिक अवस्था एकदमै कमजोर छ । गाउँको जग्गा जमिन कति आउला र सर, बेच्दा बढीमा ४ लाख जति आउला ।
यो पनि पढ्नुस्
पाँचथर हत्याकाण्ड : ‘आत्महत्या’अघि मानबहादुरले एकाबिहानै ५ हजार मागेको त्यो ‘अन्तिम कल’ !