
बुटवल – मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिले संविधानको धारा १६५ प्रयोग गरेर सातवटै प्रदेशका प्रमुखलाई पदमुक्त गरेपछि प्रतिपक्षी दल र प्रदेश प्रमुखहरू असन्तुष्ट बनेका छन् ।
प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारले द्वन्द्व निम्त्याएको टिप्पणी गरेको छ भने ५ नम्बर प्रदेश प्रमुख उमाकान्त झाले सरकारको निर्णय अप्रिय रहेको टिप्पणी गरे ।
झाले लोकान्तरसँग कुरा गर्दै सरकारको निर्णय निर्णय अप्रिय रहेको बताए । आफूले कुनै पनि काम संविधानविपरित नगरेको झाको टिप्पणी छ ।
राष्ट्रपतिले आफूलगायत सबै प्रदेश प्रमुखलाई पदमुक्त गरेका बेला झा काठमाडौँमै थिए । उनले यस्तो निर्णय सञ्चारमाध्यमबाट सुनेको बताए ।
‘मैले पनि समाचारबाट मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिबाट सातै प्रदेश प्रमुखहरुलाई पदमुक्त गरियो भन्ने सुनें,’ झाले भने, ‘सरकारले संविधानविपरित हतारमा यस्तो निर्णय गर्यो । यो निर्णय अप्रिय छ ।’
सरकारले यस्तो किन गर्यो आफूलाई थाहा नभएको झाको जिकिर छ ।
‘किन गर्यो खै उहाँहरू नै जान्नुहोला,’ उनले भने, ‘तर सरकारले यस्तो बेलामा हामीलाई पदमुक्त गरेर राम्रो काम गरेन । यस्तो निर्णय गर्न हुँदैन्थ्यो । अहिले यहाँभन्दा के भनौं ।’