०१ असार २०८३, सोमबार

मुना कार्की हत्या प्रकरण : सिसिक्यामेरा फुटेजमा प्रहरीले जे देख्यो

माघ २८, २०७६
मुना कार्की हत्या प्रकरण :  सिसिक्यामेरा फुटेजमा प्रहरीले जे देख्यो

पूर्वसचिव अर्जुन कार्कीकी श्रीमती ४९ वर्षीया मुना कार्कीको घरमा काम गर्न राखिएका सहयोगीबाट घरभित्रै हत्या भएको छ । १२ वर्षदेखि घरेलु कामदार बसेका दाङ लमहीका विजय चौधरीले कार्कीको हत्या गरेको प्रहरीले पुष्टि गरेको छ । २२ वर्षीय चौधरी पनि सँगै मृत भेटिएका छन् । 

सानेपास्थित कार्की निवासको डाइनिङ हलमा सोमबार बिहान दुवैको शव भेटिएको हो । कार्कीको शव टाउकोमा गम्भीर चोट लागेको र अनुहार कपालले छोपिएको अवस्थामा थियो । चौधरीको घाँटीमा पासो लागेको र डोरी चुँडिएको अवस्थामा थियो । आधा डोरी उनी ढलेको ठीक माथि भ-याङको रेलिङमा झुन्डिएको थियो । 

अनुसन्धानमा संलग्न अपराध अनुसन्धान महाशाखाका एसपी मुकेशकुमार सिंहले कार्कीको हत्या चौधरीले नै गरेको पुष्टि भएको बताए । ‘हामीले सिसिक्यामेरा फुटेज अध्ययन ग-यौँ । फुटेज अध्ययन गर्दा कार्कीको हत्या चौधरीले नै गरेको देखिन्छ, कन्फ्युजन हुनुपर्ने अवस्था छैन,’ एसपी सिंहले भने, ‘तर, घटनाको कारण बुझ्न सकिएको छैन । हामी अध्ययन गर्दै छौँ ।’ 

सुरक्षाविद् तथा नेपाल प्रहरीका पूर्वडिआइजी हेमन्त मल्लले आर्थिक, यौन, लागुऔषध र मनोवैज्ञानिक कारण घरेलु कामदारबाटै हत्याका घटना हुने गरेको बताए । 

घटना हुँदा घरमा चौधरी र कार्कीबाहेक कोही थिएनन् । सरकारी सेवाबाट अवकाश पाएपछि फुर्सदिला अर्जुन नित्यकर्म सकेपछि सधैँझैँ सोमबार पनि बिहानै पशुपति दर्शनका लागि गए । घरमा श्रीमती र ११ वर्षीय छोरा थिए । छोरीहरू एउटी बेलायत र अर्की अमेरिका बस्छन् । कार्कीले घरमा दुई सहयोगी राखेका थिए । चौधरी फुल टाइमर थिए भने अर्की महिला पार्टटाइमर । 

७ कक्षामा पढ्ने छोरालाई विद्यालय ल्याउने–लैजाने काम पार्टटाइमर सहयोगी महिलाले गर्छिन् । उनका लागि खानाको बन्दोबस्त भने कार्कीले नै गर्छिन् । सोमबार पनि त्यही तालिकाअनुसार चल्यो । 

पशुपति मन्दिरमा रहँदा नै अर्जुनलाई एकपटक श्रीमतीको फोन गयो । घरमा खाना तयार भएको खबर थियो । नियमितजस्तै अर्जुन सोमबार पनि ११ः४५ तिर घर पुगे । गेट खोल्न खोजे, तर खुलेन । घरमा कोही नहुँदा कहिलेकाहीँ गेट खुल्दैन । यस्तो वेला गेटको अर्को चुकुल खोल्नुपर्छ । उनले त्यसै गरे । अनि सरासर किचेनतर्फ लागे ।

जब किचेन भित्र प्रवेश गरे, भुइँमा रगत लतपतिएको देखे । नजिकै ढलेकी थिइन्, श्रीमती मुना । कोठाभित्रै अर्कोतिर पल्टिएका थिए कामदार चौधरी । अर्जुन श्रीमती नजिक पुगे, गालमा थपथपाए । चालचुल नभएपछि उनी आत्तिँदै आँगनमा निस्किए । हारगुहार गर्दै छिमेकी डाके । छिमेकी घटनास्थल पुगे । त्यसवेलासम्म उनीहरूले प्रहरीलाई खबर गरिसकेका थिए । 

प्रहरीले कार्कीको बलात्कारपछि हत्या भएको हुन सक्ने आशंका गरेको छ । प्रहरीका अनुसार घटनास्थल मुचुल्काका क्रममा चौधरीको अन्डरवेयरभित्र वीर्यजस्तै देखिने चिप्लो पदार्थ भेटिएको छ । अन्डरवेयरको केही भागमा रगत लागेको पनि देखिएको छ । मृतक कार्कीको मासिक चक्रकै वेला रहेको अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ । 

‘चौधरीको अन्डरवेयरमा शंकास्पद वस्तु फेला परेका छन् । तर, परीक्षण हुन सकेको छैन,’ महाशाखाका प्रवक्ता एसपी सिंहले भने, ‘झुन्डिएको मान्छेको शरीरको कुनै अंगबाट तरल पदार्थ निस्किनु स्वाभाविक पनि हुन सक्छ । त्यसैले थप अनुसन्धान आवश्यक छ ।’ 

सिसिक्यामेरा फुटेजमा प्रहरीले जे देख्यो

कार्की निवासमा मूलगेट र भान्छाअगाडि प्यासेजमा सिसिक्यामेरा जडान छ । घटनाको अनुसन्धान गर्न प्रहरीलाई तिनै सिसिक्यामेरा फुटेजले सहज बनायो । प्रहरीका अनुसार बिहान करिब ९ बजे विजय चौधरी घरको मूलगेटमा देखिन्छन् । गेटमा उनले कसैलाई बिदा गरिरहेको देखिन्छ । गेट बन्द गरेर उनी सरासर घरभित्र छिर्छन् । मुना कार्की १०: ०० बजे भान्छामा काम गरिरहेकी देखिन्छिन् ।

एकसुरमा काम गरिरहेकी कार्कीको पछाडि चौधरी खल्तीमा हात हाल्दै ओहोरदोहोर गरिरहेका देखिन्छन् । १०:१० बजे चौधरीले कार्कीलाई पछाडिबाट डोरीले घाँटीमा अँठ्याउँछन् । करिब १३ मिनेटसम्म भुइँमा दबाएर राख्छन् । त्यसपछि चौधरीले सातपटकसम्म पिर्काले हान्छन् । सिसिक्यामेरामा पिर्का उठाएको देखिए पनि बजारेको भाग देखिँदैन । कार्कीको टाउकोमा रगतको भल बग्ने गरी चोट लागेकाले पिर्काले नै हानेको प्रहरी निष्कर्ष छ । 

कार्कीको मृत्युपछि चौधरी शव छोडेर ११:०८ बजेसम्म घरभित्रै डुलिरहेका देखिन्छन् । त्यसपछि उनी भ-याङ चढे, रेलिङमा पासो लगाएर झुन्डिए । तर, पासो बलियो नहुँदा चुँडियो । उनी भुइँमा पछारिए । चोटका कारण उनको पनि मृत्यु भयो । 

११:२० बजे पूर्वसचिव कार्की डाइनिङ हलमा प्रवेश गर्छन् । अप्रत्याशित घटना देखेपछि बाहिर निस्केर हारगुहार गरेको सिसिक्यामेरामा देखिन्छ । महाशाखाका प्रवक्ता एसपी मुकेशकुमार सिंहले भने, ‘चौधरीले कार्कीको टाउकोमा पिर्का प्रहार गरेको सिसिक्यामेरा फुटेज देखिन्छ । चोट लागेर टाउकोबाट रगत बगेको देखिन्छ । प्रहार गरिएको पिर्का पनि फेला परेको छ ।’

कामदारबाट उपत्यकामा तीन वर्षमा तीनको हत्या 

३ भदौ ०७५ मा फ्रान्सका लागि नेपालका पूर्वराजदूत केशव झाको बबरमहलस्थित निवासमै हत्या भयो । टाउकोमा चक्कु प्रहार गरिएका उनको अत्यधिक रक्तश्रावका कारण ज्यान गएको थियो । हत्या घरकै भान्छे काभ्रेका ४५ वर्षीय सानुकान्छा तामाङ  संलग्न रहेको करिब वर्ष दिनको अनुसन्धानपछि खुल्यो । उनी अहिले पुर्पक्षका लागि थुनामा छन् । झाको घरमा तामाङ १५ वर्षदेखि कार्यरत थिए । 

१२ साउन ०७४ मा बुढानीलकण्ठ–१ मा पनि घरेलु कामदारकै योजनामा ५५ वर्षीय पार्वती ढकालको हत्या भयो । हत्यामा संलग्न थिए, नुवाकोट ककनी–२ का ३७ वर्षीय सुदाम लालिछाने । सुदाम वैदेशिक रोजगारमा जान चाहन्थे । तर, खर्च थिएन । पार्वतीकी छोरी गीतासँग सहयोग मागे । तर, गीताले पैसा नदिएपछि गहना लुट्ने निष्कर्षमा पुगे । यही रिसमा उनले ढकाललाई ह्याम्मरले हानेर हत्या गरेका थिए । 

‘सानेपासहितको घटना जोड्दा घरेलु कामदारकै कारण दुई वर्षमा तीनजनाको हत्या भएको देखिन्छ । घटना अनुसन्धान गर्दा अधिकांशमा आर्थिक कारण देखिन्छ ।’

सोमबार पूर्वसचिव अर्जुन कार्कीकी श्रीमती मुना पनि घरेलु कामदारकै हातबाट मारिएकी छिन् । विजय चौधरी कार्की परिवारकै सदस्यजस्ता थिए । पछिल्लो समय उनलाई ड्राइभिङ स्कुलमा पनि भर्ना गरिदिएका थिए । तर, मुनाको हत्याको कारण भने खुलेको छैन । 

अपराध अनुसन्धान महाशाखाका प्रमुख  एसएसपी सहकुल थापाले घरेलु कामदारबाट उपत्यकामा तीन वर्षमा तीनको हत्या भएको बताए । ‘सानेपासहितको घटना जोड्दा घरेलु कामदारकै कारण दुई वर्षमा तीनजनाको हत्या भएको देखिन्छ । घटना अनुसन्धान गर्दा अधिकांशमा आर्थिक कारण देखिन्छ ।’

सुरक्षाविद् तथा नेपाल प्रहरीका पूर्वडिआइजी हेमन्त मल्लले आर्थिक, यौन, लागुऔषध र मनोवैज्ञानिक कारण घरेलु कामदारबाटै हत्याका घटना हुने गरेको बताए । ‘घरेलु कामदारबाट हुने हत्या नेपालमा मात्र होइन, भारतमा समेत बढेको विभिन्न तथ्यांकले देखाउँछन्,’ उनले भने, ‘आर्थिक, यौन, लागुऔषध र मनोवैज्ञानिक कारण बढी देखिन्छन् ।’  नयाँ पत्रिकामा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्