
चीनमा देखा परिरहेको प्राणघातक सङ्क्रमण कोरोना भाइरस नियन्त्रणका लागि चीनलाई विश्व विभिन्न ७७ देशहरूको समूह ग्रुप ७७ ले सहयोग गर्ने जनाएको छ ।
संयुक्त राष्ट्रसंघका लागि गुएनाका राजदूत रुडल्फ माइकल तेन्पोले सोमवार सो जानकारी दिए । उनले ग्रुप ७७ का सदस्य राष्ट्रहरुले चीनलाई आवश्यक पर्ने सहयोग उपलब्ध गराउने बताएका हुन् ।
त्यसैगरी संयुक्त राष्ट्रसंघले पनि चीनलाई आवश्यक पर्ने सहयोग उपलब्ध गराउने आवश्वासन दिएको छ । यसअघि संयुक्तराज्य अमेरिकाले पनि चीनलाई आवश्यक सहयोग उपलब्ध गराउने जनाएको थियो ।
संयुक्त राष्ट्रसंघले चीनले हाल कोरोना भाइरसको सङ्क्रमण रोक्नका लागि गरेका प्रयासहरूको सराहना पनि गरेको छ । हालसम्म चीनले गरेका प्रयासको सराहना गर्दै चीनले आगामी दिनमा गर्नुपर्ने कार्यका लागि आवश्यक सहयोग उपलब्ध गराउने उसले जनाएको छ ।
चीनले यस भाइरसको सङ्क्रमण रोक्न हालसम्म चालीस हजार सामुदायिक कार्यकर्तालाई अग्रपङ्क्तिमा परिचालन गरिएको जनाएको छ ।
चीनका विभिन्न प्रदेशमा रहेका ६ लाख ५० हजार समुदायमा उनीहरु परिचालित भएको नागरिक मामिला अधिकारीहरूले सोमवार जानकारी दिएका थिए ।
नागरिक मामिला मन्त्रालयका अधिकृत चेन येलिङका अनुसार हरेक समूदायका लागि औसतमा छ जना सामुदायिक कार्यकर्ता परिचालित भएका छन् ।
पत्रकार सम्मेलनमा उनले हरेक सामुदायिक कार्यकर्ताले औसतमा ३५० स्थानीय बासिन्दालाई हेर्ने गरेको पनि जानकारी दिए ।
आर्थिक तथा सामाजिक क्षेत्रका लागि संयुक्त राष्ट्रसंघका उपमहासचिव लिउ जेनमिनले यस सङ्क्रमण नियन्त्रणका लागि चीनले गरेका कार्यहरुका बारेमा संयुक्त राष्ट्रसंघका विभिन्न एजेन्सी तथा महत्वपूर्ण मञ्चहरूमा छलफल जारी रहेको जानकारी दिए ।