१० साउन २०८३, आइतबार

अप्ठ्यारो परे मलाई भन्नुहोस् : प्रधानमन्त्री ओली

अप्ठ्यारो परे मलाई भन्नुहोस् : प्रधानमन्त्री ओली
फाइल तस्वीर

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार तथा निजी क्षेत्रको साझा प्रयासबाट मात्र मुलुकको समृद्धि सम्भव हुने बताएका छन् । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयद्वारा मंगलवार राजधानीमा आयोजित ‘महत्वपूर्ण व्यावसायिक व्यक्ति’ (सीआईपी) सम्मान एवं सुशोभन समारोहलाई सम्बोधन गर्दै उनले सरकार निजी क्षेत्रसँग सहकार्य गर्न तयार रहेको पुनः दोहोर्‍याए । उनले निजी क्षेत्रको अप्ठ्यारा र असुविधा सम्बोधन गर्न सरकार तयार रहेको बताए । 

निर्यात व्यापारमा देखिएका समस्या समाधान गर्न सरकारले पहलकदमी लिएको उदाहरण दिँदै उनले भने, 'केही समयअघि सुपारी, अदुवा तथा पाम आयलको निर्यातमा समस्या थियो, अहिले समस्या समाधान भएको छ, निर्यातका विभिन्न क्षेत्रमा सरकारले सहजीकरण गरिरहेको छ ।'

उत्पादन वृद्धि, रोजगारी सिर्जना तथा आयात प्रतिस्थापन र निर्यात अभिवृद्धिमा लाग्न निजी क्षेत्रलाई आग्रह गर्दै प्रधानमन्त्री ओलीले सरकारका तर्फबाट निजी क्षेत्रलाई पूर्णरूपमा साथ रहने विश्वास दिलाए । 'ढुक्क हुनुहोस्, विश्वस्त भएर काम गर्नुहोस्,'व्यवसायीलाई आश्वस्त पार्दै प्रधानमन्त्री ओलीले भने, 'यदि कुनै अप्ठ्यारो आए मलाई भन्नुहोस् ।'

राजनीति परिवर्तनपछि मुलुक आर्थिक समृद्धिको चरणमा रहेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले अबका प्रयास सुशासन र आर्थिक विकासमा केन्द्रित हुने बताए । 'अब हामी नयाँ मार्गमा उत्साहित भएका छौं, सिङ्गो देश विकासको काममा नलागी सुशासन र विकास सम्भव छैन,' उनले भने, 'विकास र समृद्धिका लागि निजी क्षेत्रको सामूहिक सहयोगको खाँचो छ, सुशासन र देश विकासमा हाम्रो सामूहिक प्रयास लगाउनुपर्छ ।'

विकास र समृद्धिको मामिलामा सरकार र निजी क्षेत्रको समान धारणा रहेको उल्लेख गर्दै प्रधानमन्त्रीले अब सुशासनमा पनि एक मत हुनुपर्ने बताए । सुशासन विकास र समृद्धिको बाधक नभएको प्रष्ट्याउँदै उनले पारदर्शिता, स्वच्छता र कानूनको परिपालना गर्न निजी क्षेत्रलाई आग्रह गरे । 

salt training

कमेन्ट गर्नुहोस्