०८ असार २०८३, सोमबार

सरकारी कागजात कीर्ते, वडा सदस्य धरौटीमा रिहा

सरकारी कागजात कीर्ते, वडा सदस्य धरौटीमा रिहा

ओखलढुङ्गामा सरकारी कागजात कीर्ते गरेको आरोपमा मुछिएका वडासदस्य धरौटीमा रिहा भएका छन्।

सुनकोशी गाउँपालिका–९ का धनबहादुर तामाङ धरौटीमा छुटेका हुन्।

आइतबार पक्राउ परेका उनलाई सोमबार जिल्ला अदालतले  चार लाख धरौटीमा छाडेको वडाध्यक्ष झनककुमार कार्कीले जानकारी दिए। तामाङकै नाममा अर्काले कीर्ते हस्ताक्षर गरेको भनिएता पनि उनको समेत संलग्नता हुनसक्ने भन्दै प्रहरीले पक्राउ गरेको थियो।  

वडा कार्यालयले दिने सबै कागजात कीर्ते बनाएर सरकारी सेवा लिने तीनलाई प्रहरीले यसअघि पक्राउ गरेको थियो। निर्वाचित वडासदस्य धनबहादुर तामाङको नाममा कार्यवाहक वडाध्यक्ष उल्लेख गरी कीर्ते हस्ताक्षर गर्ने मुख्य अभियुक्त भनिएका सुनकोशी गाउँपालिका–९ ककनीका कर्णबहादुर तामाङसहित कीर्ते कागजात देखाएर सेवा लिने स्थानीय पञ्चबहादुर तामाङ र अम्बरबहादुर तामाङ पक्राउ परेका थिए । उनीहरु अहिले पूर्पक्षका लागि कारागारमा छन् ।

उनीहरुकै बयानका आधारमा वडासदस्य तामाङलाई पनि नियन्त्रणामा लिएर अनुसन्धान गरिएको प्रहरीले जनाएको छ। 

 सुनकोशी गाउँपालिका–९ को छाप, लेटरप्याड, मालपोत रसिदलगायतका सबै सरकारी कागजात कीर्ते गरेर गाउँका नागरिकसँग अवैधरुपले सेवा शुल्क भन्दै रकम असुल्ने, छाप, मालपोत रसिद, सर्जिमन मुचुल्का तथा हस्ताक्षरसमेत कीर्ते गरेर जिल्ला मालपोत कार्यालय ओखलढुङ्गाबाट अनधिकृत व्यक्तिका नाममा जग्गा नामसारीसमेत गर्ने गरेको सूचनाका आधारमा प्रहरीले कीर्ते गर्नेविरुद्ध अनुसन्धान थालेको थियो। 

salt training

कमेन्ट गर्नुहोस्