
हिजबुल्लाहसँगको महिनौं लामो हिंसा अन्त्य गर्ने उद्देश्यले लागू गरिएको युद्धविरामको एक दिन नबित्दै इजरायलले लेबनानमा गरेको हवाई आक्रमणमा कम्तीमा २० जनाको मृत्यु भएको छ ।
लेबनानको राष्ट्रिय समाचार एजेन्सी (एनएनए)का अनुसार शनिबार दक्षिणी लेबनान र बेका उपत्यकाका विभिन्न क्षेत्रमा इजरायली युद्धक विमान र ड्रोनमार्फत आक्रमण गरिएको हो ।
इजरायलले भने ती आक्रमणहरू हिजबुल्लाहले रातभर गरेको रकेट तथा प्रक्षेप्य हमलाको जवाफस्वरूप गरिएको जनाएको छ । एक इजरायली सैन्य अधिकारीका अनुसार हिजबुल्लाहले दक्षिणी लेबनानमा रहेका इजरायली फौजलाई लक्षित गर्दै ५० भन्दा बढी प्रक्षेप्य प्रहार गरेको थियो । त्यसपछि इजरायलले हिजबुल्लाहका लक्ष्यहरूमा आक्रमण गरेको दाबी गरेको छ ।
हिजबुल्लाहले भने इजरायलमाथि युद्धविरामको सयौंपटक उल्लंघन गरेको आरोप लगाएको छ । समूहले निरन्तर आक्रमण भइरहे त्यसको जवाफ दिइने चेतावनी दिँदै अमेरिकालाई इजरायलमाथि दबाब बढाउन आग्रह गरेको छ ।
इजरायली सेनाले आफूले राजनीतिक नेतृत्वबाट युद्धविराम पालना गर्ने निर्देशन प्राप्त गरेको र आक्रामक नभई रक्षात्मक रूपमा मात्रै कारबाही गरिरहेको जनाएको छ । सेनाका अनुसार पछिल्लो ४८ घण्टामा दक्षिणी लेबनानमा हिजबुल्लाहको आक्रमणबाट पाँच इजरायली सैनिक मारिएका छन् ।
हिजबुल्लाहले पनि युद्धविरामप्रति प्रतिबद्ध रहेको जनाउँदै इजरायलले कब्जा विस्तार गर्ने वा थप भूभाग नियन्त्रणमा लिने प्रयास गरे प्रतिकार गरिने चेतावनी दिएको छ । समूहका अनुसार इजरायली फौजले दक्षिणी लेबनानको अली अल–ताहेर पहाडी क्षेत्रमा प्रवेश गर्ने प्रयास गरेपछि झडप भएको थियो ।
शनिबारको सबैभन्दा घातक आक्रमण दक्षिणी टायर जिल्लाको बारिश सहरमा भएको बताइएको छ । स्थानीय अधिकारीहरूका अनुसार तीनतले आवासीय भवनमा भएको आक्रमणमा एकै परिवारका बाबु, आमा र दुई सन्तानको मृत्यु भएको छ ।
लेबनानी सेनाले अर्को एक आक्रमणमा कफाररुम्मान–नाबातिये सडक खण्डमा एक सैनिक मारिएको जनाएको छ । त्यस्तै, एनएनएका अनुसार इजरायली आक्रमणबाट लेबनानको केन्द्रीय बैंकको नाबातिये शाखा भवन पनि ध्वस्त भएको छ । केन्द्रीय बैंकले भवनमा प्रत्यक्ष आक्रमण भएको पुष्टि गरे पनि मानवीय क्षति नभएको जनाएको छ ।
इजरायली सेनाकी अरबी भाषाकी प्रवक्ताले हिजबुल्लाहले आक्रामक गतिविधि र सम्झौता उल्लङ्घन रोक्ने हो भने शान्ति कायम हुन सक्ने बताएकी छन् । उनका अनुसार इजरायलको सुरक्षा क्षेत्रभित्रको सैन्य उपस्थिति सर्वसाधारणलाई लक्षित नभई हिजबुल्लाहको संरचना नष्ट गर्न केन्द्रित छ ।
लेबनानको स्वास्थ्य मन्त्रालयका अनुसार गत मार्च २ यता इजरायली आक्रमणमा ४ हजार ५७ जनाको मृत्यु भइसकेको छ । मृत्यु हुनेमध्ये स्वास्थ्यकर्मी, महिला र बालबालिका पनि रहेका छन् । यद्यपि कति लडाकु थिए भन्ने विवरण मन्त्रालयले सार्वजनिक गरेको छैन ।
उता इजरायली अधिकारीहरूका अनुसार हिजबुल्लाहसँगको द्वन्द्वमा हालसम्म कम्तीमा ३२ सैनिक र चार सर्वसाधारणको मृत्यु भएको छ ।