
सरकारले चीनमा रहेका नेपालीलाई ल्याएर राखिने क्वारेन्टाइन क्षेत्रमा संक्रमण फैलन नदिनउच्च सतर्कता अपनाइएको बताएको छ।
सरकारले चीनमा रहेका नेपालीलाई केही दिनमै नेपाल फर्काउने तयारी गरेका बेला क्वारेन्टाइनस्थलको आवश्यक सुरक्षा र निगरानी बढाएको हो।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठद्धारा बुधबार जारी विज्ञप्तिमा सरकारले कोरोनाको प्रभाव नेपालमा पर्न नदिन आवश्यक तयारी र उच्च सतर्कता अपनाइएको जनाएको छ।
मन्त्रालयका अनुसार चीनबाट आएका व्यक्तिलाई आवश्यक स्वास्थ्य परीक्षण गरी शङ्का लागेमा अस्पताल लगिने र अन्यलाई क्वारेन्टाइनमा राख्ने व्यवस्था मिलाएको छ।
क्यारेन्टाइनमा राखिएका व्यक्तिलाई नियमित स्वास्थ्यपरीक्षण गरी शङ्कास्पदको प्रयोगशालामा परीक्षण गरिने, रोग लागेको शङ्का लागेमा आइसोलेसनमा राखिने, रोग सर्न नदिन विश्व स्वास्थ्य सङ्गठनले तोकेको मापदण्डको आधारमा काम गरिने र सङ्क्रमित व्यक्ति भेटिए उपचारपछि निको भए पनि सङ्गठनको मापदण्डअनुसार नै अन्य व्यक्तिसँग सम्पर्कमा आउन नमिल्ने गरी राख्ने व्यवस्था मिलाइएको मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ ।
नेपालमा एक जनामा बाहेक कुनै पनि व्यक्तिमा कोरोना भाइरसको सङ्क्रमण नरहेको जनाइएको छ । अहिलेसम्म १८ जनाको परीक्षण गरिएकोमा एक जनामा मात्रै सङ्क्रमण फेला परेको थियो ।