
याङ्ग्री–लार्के आयोजना सञ्चालनका लागि मेलम्ची खानेपानी विकास समिति र पाँचपोखरी थाङपाल गाउँपालिकाबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ।
समितिका कार्यकारी निर्देशक तिरेशप्रसाद खत्री र गाउँपालिकाका अध्यक्ष टासी लामाबीच स्थानीय समुदायका हितमा राखी आयोजना सञ्चालन गर्नेबारेमा सहमति पत्रमा बुधबार हस्ताक्षर गरेका हुन्।
सहमति अनुसार आयोजना प्रभावित क्षेत्र परिभाषित गर्नुपर्ने, आयोजना प्रभावित क्षेत्रबाट मेलम्ची विकास बोर्डमा प्रतिनिधित्व गराउनुपर्ने, गाउँपालिकाभित्र गरिने विकास निर्माणकार्य एकद्वार प्रणालीबाट गर्नुपर्ने उल्लेख छ।
यसैगरी पाँचपोखरी गाउँपालिका–१ र २ लाई जोड्ने मेलम्ची–दाउचेत–केउरेली–जतन–बरुवा–याङ्ग्री सडक कालोपत्र हुनुपर्ने, मेलम्ची भोताङ सडकखण्डअन्तर्गतको थाङपालधापको भैँसी काट्ने थलादेखि थाङपाकोट–मानेखर्क हुँदै भोताङ छिम्ती–देउराली–लार्केसम्म जोड्ने पुल निर्माण र सडक कालोपत्र हुनुपर्ने, तिपेनी, खाल्डे र काफ्ले खोलामा तीन वटा पुल बन्नुपर्ने सहमतिपत्रमा उल्लेख गरिएको छ।
अब छिट्टै आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन गर्नुपर्ने भएकाले स्थानीय सरकारसँग समितिले सम्झौता गरेको खत्रीले बताए। सो आयोजनाअन्तर्गत याङ्ग्री खोलाबाट १७ करोड लिटर र लार्के खोलाबाट १७ करोड लिटर गरी कूल ३४ करोड लिटर पानी दैनिक काठमाडौँ ल्याइनेछ।