२८ जेठ २०८३, बिहीबार

चीनबाट ल्याउने नेपालीलाई ‘क्वारेन्टाइन’मा बन्दोबस्त : थरिथरिका खाना र खेल !

फागुन ३, २०७६
चीनबाट ल्याउने नेपालीलाई ‘क्वारेन्टाइन’मा बन्दोबस्त : थरिथरिका खाना र खेल !

सरकारले कोरोना भाइरस (कोभिड १९) को उद्गमस्थल चीनको वुहानबाट शनिवार राति ल्याउने नेपालीलाई १५ दिनसम्म राख्नका लागि जिल्लाको खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणको तालिम केन्द्रमा क्वारेन्टाइन निर्माणदेखि सम्पूर्ण तयारी पूरा गरेको छ । 

क्वारेन्टाइनस्थलमा शनिवार रासस र नेपाल टेलिभिजनका सञ्चारकर्मीलाई सरकारले गरेको तयारीकाबारेमा जानकारी गराउँदै भवनबाहेक सम्पूर्ण नयाँ संरचनाको व्यवस्था गरी तयारी पूरा गरेको शहरी विकास मन्त्रालयअन्तर्गत संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यान्वयन काठमाडौंका सहसचिव कुमार घिमिरेले जानकारी दिए ।

क्वारेन्टाइनमा अन्तर्राष्ट्रिय मापदण्ड पूरा गर्दै आइशोलेसन वार्डमा हुने जतिकै सुविधासहितको व्यवस्था गर्दै भवनमा रंगरोगन, बगैंचा निर्माण, भौतिक संरचना एवम् विद्युतीयदेखि स्यानेटेरीसम्मको मर्मत सम्भार, सुत्ने ठाउँदेखि दैनिक उपयोग सम्पूर्ण नयाँ सामानको व्यवस्थापन गरिएको उनले जानकारी दिए ।

नेपाली सेना, नेपाल प्रहरी र शसस्त्र प्रहरीको संयुक्त टोलीले सुरक्षादेखि सरसफाइसम्मका पूर्वाधार व्यवस्थापनमा सघाउ पुर्‍याउँदै ६ दिनभित्र सम्पूर्ण तयारी पूरा गरेको उनले बताए । क्वारेन्टाइनमा जस्ताले वरिपरि बार लगाउनुका साथै प्राधिकरणको ४ वटा भवन प्रयोग गर्ने गरी व्यवस्थापन गरिएको छ ।

ठूला २ भवनमा पुरुष, परिवारसहित आउने टोली, रातो भवनमा महिला र अर्को सानो क्वार्टर भवनमा चिकित्सक सहितको स्वास्थ्यकर्मी बस्ने गरी ४ वटा भवनमा सबै संरचना जडान गरी व्यवस्थापन गरिएको छ । 

भवनमध्ये ब्लक ए मा ८६, ब्लक बि मा ८९ र ब्लक सि मा २५ जना गरी कूल २०० जना क्षमता रहेको क्वारेन्टाइन तयार पारेको  सचिवालयका उपसचिव विदुर खड्काले जानकारी दिए । वुहानका नेपालीलाई लिन नेपाल एयरलाइन्सको ए ३३० वाइडबडी विमान ४ स्वास्थ्यकर्मी, ३ पाइलट, ७ क्रुमेम्बर, १ इन्जिनीयर, १ प्राविधिक र १ डिस्पास्चर गरी १७ चिकित्सक सहितको टोली लिएर शनिवार चीन जाँदैछ ।

विमानमा चीनबाट पुरुष १४३, महिला ४२ र विदेशी नागरिक हुण्डुरसकी १ महिला गरी १८६ जनालाई चीनबाट आइतवार बिहान ३ः०० बजेसम्ममा त्रिभुवन विमानस्थल ल्याइपुर्‍याइने भएको छ ।

त्रिभुवन विमानस्थल ल्याएपछि स्वास्थ्य परीक्षण गराई ५ बसमा राखेर र एम्बुलेन्ससँगै सुरक्षाका सम्पूर्ण माध्यम अपनाएर खरिपाटीस्थित क्वारेन्टाइनमा लगेर तोकिएको कोठामा प्रवेश गराइने छ । क्वारेन्टाइनको सबै भवनमा गरी १८ वटा सिसिक्यामरा, ८ टेलिभिजन, सबै ब्लकमा स्पीकर जडान गर्नुका साथै तीनवटा वासिङ मशिन, ओछ्यान, टावेल, चप्पल, साबुन, मन्जन, ब्रश, माक्स र औषधिलगायत दैनिकरुपमा आवश्यक सबै सामग्री प्रत्येक श्ययामा पुर्‍याइएको छ ।

एक कोठामा कम्तीमा एक मिटरको फरकमा २ देखि ३ शय्या रहने गरी कोठाको व्यवस्थापन गरिएको छ । शौचालय मर्मत, तातोपानी, खानका लागि शुद्ध पानी, कोठामा इन्टरकम टेलिफोन राखिएको छ । मनोरञ्जनका लागि २ ब्याडमिन्टन कोड निर्माण गरिएको छ भने क्यारेम बोर्ड, लूडो र बच्चाका लागि बल लगायतका खेल सामग्री व्यवस्था गरिएको छ । कोठाभित्रै बस्ने नभइ कोठाबाट बाहिर क्वारेन्टाइनभित्रको निश्चित क्षेत्रमा हिँडडुल गर्न पाइने छ । 

दुई वटा स्वास्थ्य टोली २४ घण्टै रहनेछन्, जसमध्ये नेपाली सेनाका क्याप्टेन डा. नविन पूmँयालको नेतृत्वमा नर्ससमेत स्वास्थ्य टोली क्वारेन्टाइनभित्र रहनेछ । नेपाली सेना, प्रहरी र शसस्त्र प्रहरीसहितको संयुक्त चिकित्सक  टोली तयारी अवस्थामा बाहिर रहनेछ । क्वारेन्टाईनमा पुगेको २४ घण्टाभित्र र १४ दिनमा स्वास्थ्य जाँच एवं रगत संकलन गरिने छ । अरु दिन व्यक्ति स्वयम्ले स्वजाँच गर्न मिल्ने थर्माेमिटरका माध्यमबाट प्रत्येक व्यक्तिले दिनको दुईपटक तापक्रम जाँचगरी तोकिएको ढाँचामा अभिलेख राख्नुपर्नेछ । 

कुनै कुरा आवश्यक परेमा कन्ट्रोल रुम र रोगको लक्षण देखिएमा सिधै डाक्टरलाई फोन सम्पर्क गरी स्वास्थ्य जाँच गरिनेछ । जाँच शंकास्पद देखिए क्वोन्टाइन अगाडि तयारी अवस्थामा रहेको एम्बुलेन्सले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल वा पाटन अस्पताल तथा शसस्त्र प्रहरी अस्पतालमा अबिलम्ब स्थानान्तरण गर्नेछ । सरकारले विभिन्न अस्पतालमा १४७ आइसोलेसन वार्ड तयार पारेको छ ।

क्वारेन्टाइनमा रहँदा अभिभावकसँग प्रत्यक्षरुपमा भेटघाट गर्न पाइने छैन । क्वारेन्टाइन अगाडि आगन्तुक कक्षमा यहाँको अवस्थाबारे जानकारी गराइने छ । प्रत्येक दिन बिहानको नास्ता, ११ः०० बजे खाना, ३ः०० बजे खाजा र साँझ ७ः०० बजे खानाको व्यवस्था गरिएको छ । ६ वटा खाना संकलन केन्द्रमा राखिएपछि कन्ट्रोल रुमबाट माईकमार्फत जानकारी गराएपछि खाना लिने व्यवस्था गरिएको छ । 

पत्रकारका लागि क्वारेन्टाइन बाहिर सञ्चारकर्मी कक्षको व्यवस्था गरिएको छ । क्वारेन्टाइनमा उनीहरूले प्रयोग गर्ने शौचालयको सेफ्टी ट्यांकीदेखि बढी भएको खाना व्यवस्थापन गर्ने जमिनमुनि छुट्टै संरचना बनाइएको छ । चौविसै घण्टा संयुक्त सुरक्षा फौजले सुरक्षा प्रदान गर्नेछ । क्वारेन्टाइन बाहिर रहेको कन्ट्रोल रुमबाट २४ सै घण्टा अनुगमन गरिने छ । 

चीनबाट फर्कने नेपालीलाई लिन जाने पाइलट, को–पाइलट, परिचारिका र सफाइ गर्ने स्वीपरलाई भने चाँगुनारायण नगरपालिका–६ नगरकोटस्थित खानेपानी तालिम केन्द्रको अर्को क्वारेन्टाइनमा राख्ने व्यवस्था गरिएको छ । सबै व्यवस्थापनका लागि सरकारको करीब ६ करोड खर्च हुने भएको छ । स्थानीय वासिन्दामा त्रास नहोस् भनेर शनिवारसम्ममा नेपाली सेना वीरदल गणका गणपति कर्णेल शिव पौडेल, महानगरीय प्रहरी परिसरका प्रमुख सविन प्रधान लगायतको संयुक्त टोलीले जनचेतना अभिवृद्धि गरेको छ । 

स्थानीय वासिन्दाका लागि संयुक्त सुरक्षा निकायका चिकित्सक सहितको स्वास्थकर्मी टोलीले प्रत्येक दिन खरिपाटी घुमाउनेस्थित सामुदायिक भवनमा निःशुल्क स्वास्थ्य शिविर र औषधि वितरणसमेत गर्ने भएको छ । सरकारले कोरोना भाइरसको संक्रमण नभएका, स्वास्थ्य व्यक्तिलाई ल्याएर १५ दिन क्वारेन्टाइनमा राखेर स्वस्थ्य प्रमाणित भएपछि घर फर्काउने भएकाले नआत्तिन र त्रासमा नरहन प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका सचिव नाराणप्रसाद विडारीले आग्रह गरेका छन् । – रमेश गिरी/रासस

salt training

कमेन्ट गर्नुहोस्