
कोरोना भाइरसबाट फ्रान्समा एक चिनियाँ पर्यटकको मृत्यु भएको छ ।
फ्रान्सका स्वास्थ्यमन्त्री अग्नेस बुजिनका अनुसार चीनको हुबेई प्रान्तमा माहामारीको रूपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९०)बाट फ्रान्समा एक ८० बर्षीय चिनियाँ पर्यटकको मृत्यु भएको पुष्टि भएको हो।
एसिया महादेशभन्दा बाहिर यो भाइरसको सङ्क्रमणबाट भएको यो नै पहिलो मृत्यु हो। बुजिनका अनुसार फ्रान्समा कोभिड–१९ सङ्क्रमणको पुष्टि भएका अन्य छ जनाको उपचार भइरहेको र उनीहरूको अवस्था सामान्य रहेको छ ।
‘फ्रान्समा मृत्यु भएका चिनियाँ पर्यटकलाई जनवरीको अन्त्यतिर पेरिसस्थित उक्त अस्पतालमा एकान्तमा राखी सेवा प्रदान गरिएको थियो । केही दिन यता उहाँको स्वास्थ्य अवस्था ‘निकै विग्रिएको’ थियो,’ उनले भनेका छन्।
चीनको मध्य क्षेत्रस्थित हुबेईको राजधानी वुहानबाट गत वर्षको डिसेम्बरमा देखा परेको यो नयाँ भाइरसका कारण चीनमा एक हजार ५ सयभन्दा बढी व्यक्तिको मृत्यु भएको छ ।