
सरकारले चीनको हुबेईस्थित वुहान सहरबाट १ सय ७५ नेपालीको उद्धार गरेको छ।
नेपाल वायुसेवाको चार्टर्ड विमान उनीहरूलाई ल्याएर शनिबार मध्यराति उडेको हो। सरकारले १ सय ८५ जना नेपाली विद्यार्थीलाई स्वदेश फर्काउने भनेकोमा १० जना उतै रोकिएका छन्।
बेइजिङस्थित नेपाली दुतावासका अनुसार १० मध्ये ६ जना स्वास्थ्यका कारण रोकिनु परेको हो भने बाँकी ४ जनाले उतै बस्न खोजेका हुन्। विमान आइतबार बिहान काठमाडौँ अवतरण गर्नेछ।
दूतावासका उपप्रमुख सुशील लम्सालका अनुसार विमान नेपालका लागि उडनु अघि वुहान विमानस्थलमा उनीहरू सबैको स्वास्थ्य जाँच गरिएको छ। विमान नेपालीलाई उद्धार गर्न शनिबार अपरान्ह वुहानतर्फ उडेको थियो।
उनीहरुलाई भक्तपुरको खरिपाटीस्थित विद्युत प्राधिकरणको तालिम केन्द्रको भवनमा राखिनेछ। त्यस्तै, जहाजका पाइलटसहित अन्य सदस्यलाई नगरकोटको खानेपानी तालिम केन्द्रमा राखिनेछ।