
कोरोना भाइरस संक्रमण फैलिएको चीनको हुबेई प्रान्तबाट १७५ नेपाली स्वदेश फिरेका छन् ।
उनीहरूलाई नेपाल वायु सेवा निगमको वाइडबडी विमानबाट उद्दार गरिएको हो। उद्धार गरिएकामा १७० विद्यार्थी, दुई बालबालिका, दुई पर्यटक र एक कामदार छन् ।
कोरोना संक्रमण चीनभर र अन्य दुई दर्जन मुलुकमा फैलिएपछि हुबेईमा रहेका १८५ नेपालीले घर' फर्कन बेइजिङस्थित नेपाली दुतावासमा निवेदन दिएका थिए । तीमध्ये चार जनाले उतै बस्ने निर्णय गरेको दूतावासले जनाएको छ। अरू ६ जना फर्कन पाएनन् ।
दूतावासका अनुसार चार जनामा ज्वरो देखिएकाले र दुई जना उनीहरूकै परिवारका सदस्य हुनाले नउडेका हुन् । घर फर्कने टोलीमा १३४ पुरुष र ४१ महिला छन् । घर फर्कन पाएका विद्यार्थीको अभिभावकले राहतको सास फेरेका छन् ।
उनीहरूले आफ्ना सन्तानलाई स्वदेश फर्काउनका लागि सरकारलाई दबाब दिन संघर्ष समिति नै बनाएका थिए ।
'क्वारेन्टाइनमा राख्ने भनिएको खरिपाटीमा के-कस्तो व्यवस्था छ, हामीलाई थाहा छैन । देशमै फर्किएपछि जेसुकै होस् । १५-२० दिनको कुरा न हो,' संघर्ष समितिका संयोजक वसन्त भण्डारीले भने, 'अर्काको देशमा डरलाग्दो रोगको महामारी भएका बेला छोराछोरीको चिन्ताले मन पोलेको थियो। अब शान्त भयो ।'
अर्का अभिभावक दिनेश श्रेष्ठले क्वारेन्टाइनमा जति दिन राखे पनि आफ्नो कुनै गुनासो नरहने बताए । 'क्वारेन्टाइनमा १४ दिन मात्र होइन, २१ दिनसम्म पनि राख्नुपर्ने हुन सक्छ भनेर हामीलाई जानकारी दिइएको छ । त्यसमा हाम्रो भन्नु केही छैन,' उनले भने, 'महामारीका बेला आफ्नो देश फर्कन पाउनु ठूलो कुरा हो । श्रेष्ठले आफूलाई अहिले बच्चा जन्मिँदा अस्पतालको अपरेसन थिएटर बाहिर कुरिरहेको जस्तो भान भएको सुनाए । कान्तिपुर दैनिकमा खबर छ ।