
प्रधानमन्त्री केपी शर्मा ओलीले आफू नेतृत्वको सरकारको दोस्रो वर्ष विकासको आरम्भ वर्षको रुपमा लिएको बताएका छन् ।
शनिवार प्रतिनिधिसभा बैठकमा सार्वजनिक महत्त्वको विषयमा वक्तव्य दिँदै ओलीले पहिलो वर्षलाई आधार वर्षको रुपमा व्याख्या गरेको र दोस्रो वर्ष विकासको वर्षको रुपमा लिएको बताएका हुन् ।
ओलीले आफ्नो सरकार बलियो जगमा उभिएको र पूरा कार्यकालको सरकार भएकाले लोकरिझ्याइँका कार्यक्रममा जोड नदिएको दाबी गरे ।
‘आफ्नै आयु र कमजोर जगमा उभिएको सरकारले गर्ने कामको तौरतरिकाको भिन्नता हुन्छ,’ ओलीले भने, ‘कमजोर टेकोमा उभिएको सरकारले लोकरिझ्याइँका कार्यक्रममा आफूलाई केन्द्रित गर्न सक्छ । बलियो जगमा अडिएको सरकारले त्यसो गर्दैन ।’
रेलमार्ग देशको गेमचेन्जर र सरकारको ड्रीम प्रोजेक्ट : ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वपश्चिम रेलमार्ग र केरुङ काठमाडौं लुम्बिनी रेलमार्ग सरकारको ड्रीम प्रोजेक्ट भएको बताएका छन् ।
आगामी ३ वर्षमा रेलमार्ग निर्माणको काम शुरू हुने उनले बताए ।
शनिवार प्रतिनिधिसभा बैठकमा सार्वजनिक महत्त्वको विषयमा वक्तव्य दिँदै ओलीले रेलमार्ग नेपालको गेमचेन्जर परियोजना रहेको बताए ।
‘आगामी ३ वर्षमा रेलमार्गको काम शुरू हुन्छ, यो गेमचेन्जर परियोजना पर्छ । केरुङ काठमाडौं, लुम्बिनी र पूर्वपश्चिम रेलमार्ग सरकारको ड्रीम प्रोजेक्ट हो,’ ओलीले भने, ‘काँकडभिट्टा–इनरुवा रेलमार्गको काम यसै आर्थिक वर्षमा शुरू हुन्छ । उत्तरतर्फको रेलमार्ग निर्माणका लागि टोखा छहरे सुरुङ मार्गले मद्दत गर्छ ।’
निजगढ विमानस्थल सरकारको प्राथमिकताको परियोजना रहेको बताए । ‘कतिपयले यो सरकारले के नयाँ काम गर्यो, पूरानै कामको निरन्तरता र लिपापोती हो, अविच्छिन्न उत्तराधिकारी भएकाले पुराना कामलाई निरन्तता दिने पनि हो,’ ओलीले भने ।
प्रधानमन्त्रीलाई कांग्रेसको प्रश्न : सीमा विवादबारे प्रधानमन्त्री स्तरीय वार्ता कहिले हुन्छ ?
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद दिलेन्द्र बडूले कालापानीको सीमा विवादबारे भारतसँग प्रधानमन्त्री स्तरिय वार्ता कहिले शुरू हुन्छ भनेर प्रश्न गरेका छन् ।
शनिवार प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको सम्बोधन पछिको प्रश्नोत्तरका क्रममा सांसद बडूले प्रश्न गरे, ‘आफ्नो सम्बोधनका क्रममा सीमा विवादबारे एक लाइन बोल्नुभएको छ । सीमा विवादबारे प्रधानमन्त्री स्तरीय वार्ता कहिले शुरू हुन्छ ? लिम्पियाधुरा समेटिएको नेपालको नक्सा कहिले जारी हुन्छ ? तिंकर सडक कहिले पूरा हुन्छ ?’