
भिजिबिलिटी कम भएका कारण त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा आउने उडानहरू प्रभावित भएका छन् ।
विमानस्थलका प्रवक्ता चन्द्र लाल कर्णले काठमाडौंको भिजिबिलिटी कम भएका कारण बाहिरबाट आउने उडान प्रभावित भएको लोकान्तरलाई जानकारी दिए ।
मौसममा आएको खराबीका कारण बिहानैदेखि ‘भीआईपी’ उडानसमेत प्रभावित बने । जसको प्रभाव विभिन्न राजनैतिक दलका शीर्ष नेता एवम् पूर्वप्रधानमन्त्रीहरूलाई समेत पर्न गयो ।
पूर्व प्रधानमन्त्री एवम् समाजवादी पार्टी नेपालका अध्यक्ष डा. बाबुराम भट्टराई बिहान सात बजेको उडानका लागि त्रिभुवन विमानस्थल पुगे । तर उडान लामो समयसम्म भएन ।
त्यतिकैमा नेपालगञ्जको एक कार्यक्रममा सहभागी हुन नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' त्रिभुवन विमानस्थलमा पुगे । उनी पनि ‘डिले’मा परे । जसको परिणामस्वरुप निकै लामो समयसम्म भेटघाट नभएका डा भट्टराई र अध्यक्ष प्रचण्डबीच अकस्मात भेट हुन पुग्यो ।
विमानस्थलमा प्रचण्ड, गृहमन्त्री राम बहादुर थापा, अर्थमन्त्री युवराज खतिवडा, सांसद कोमल ओलीलगायतको भेट भएको हो ।
बिहान ७ बजेको उडान रहेपनि उडानमा ढिलाइ भएको थियो । डा. भट्टराईले ट्वीटरमा भनेका छन्, ७ बजे उड्नुपर्ने प्लेन १० बजेसम्म उडेको छैन ! एयरपोर्टमा घण्टौं कुर्दाको फाइदा चाहीं सबै पार्टीमा छरिएका साथीहरूसँग भेटघाट र गफगाफ गर्न पाइने ! नकारभित्र सकार भनेको शायद यही हो ! अथवा चित्त बुझाउने मेसो !
७ बजे उड्नुपर्ने प्लेन १० बजेसम्म उडेको छैन! एयरपोर्टमा घण्टौं कुर्दाको फायदा चाहिं सबै पार्टीमा छरिएका साथीहरूसंग भेटघाट र गफगाफ गर्न पाइने! नकारभित्र सकार भनेको शायद यही हो! अथवा चित्त बुझाउने मेसो! pic.twitter.com/Y8iMRqj6fA
— Baburam Bhattarai (@brb1954) February 16, 2020