
अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) चीनमा कोरोना भाइरसको महामारीले यस वर्ष विश्वव्यापी आर्थिक वृद्धि दरलाई प्रभावित पार्नसक्ने बताएको छ।
तीव्र र द्रूतदरमा झरेको आर्थिक वृद्धि दर कोरोनाको संक्रमणको प्रभावबाट थप समस्या आउने आईएमएफले उल्लेख गरेको हो।
दुबईमा विश्व महिला मञ्चमा सहभागी हुन पुगेका आइएमएफका व्यवस्थापन निर्देशक क्रिश्टिालिना जर्जिएभाले भनेका छन्, ‘आर्थिक वृद्धि दरमा कटौती हुनसक्ने यो दर करिब ०.१ देखि ०.२ प्रतिशतको अवस्थामा हुने तत्कालको अनुमान छ।’
करिब एक हजार ६ सय व्यक्तिको ज्यान लिइसकेको कोभिड–१९ ले विश्व अर्थतन्त्रमा कति प्रभावित पार्नेछ अहिल्यै पूर्ण अनुमान गरिहाल्न सकिने अवस्था भने नभएको उनको तर्क थियो।
जर्जिएभाले भनेका छन्, ‘म सबैसँग अनुरोध गर्छु कि अहिल्यै निष्कर्षमा नजाऔँ। अनिश्चितता अझै बाँकी छ। हामी परिदृश्यहरूसँगै काम गर्छौं अनुमानका भरमा मात्रै होइन। आगामी १० दिनमा मलाई सोध्नुहोस यसबारे स्वभाविक नतिजा भन्नुसकौँला।’
आइएमएफको जनवरीको प्रक्षेपणमा सन् २०२० का लागि आर्थिक वृद्धिदरको पूर्व अनुमानलाई सच्याउँदै ३.४ प्रतिशतको वृद्धि दरलाई ३.३ प्रतिशतमा झारेको थियो। सन् २०१९ मा आर्थिक वृद्धि दर २.९ प्रतिशत कायम भएपछि आइएमएफले आफ्नो अनुमानलाई पुनरावलोकन गरेको थियो । विश्व अर्थतन्त्रमा यस दशककै सबैभन्दा कम वृद्धिदर सन् २०१९ मा कायम भएको थियो ।
महामारीको पूर्ण प्रभावको आँकलन गर्न ‘धेरै चाँडो’ भएको तर यसले पर्यटन र यातायातजस्ता क्षेत्रलाई प्रभावित गरिसकेको जर्जियाभाले स्वीकार गरे।