
पूर्व सभामुख कृष्णबहादुर महराविरुद्धको मुद्दामा काठमाडौं जिल्ला अदालतमा हिजो (आइतवार) नै सुनुवाइ सम्पन्न भयो ।
अन्तिम सुनुवाइका लागि अदालतमा पुगेका महरा हिजै आदेश आउने आशामा थिए । आशावादी हुँदै पर्खिएका थिए ।
यसबीचमा आफ्ना वकिल र पत्रकारसँग केहीबेर गफिए पनि । त्यसक्रममा ठट्टा गर्दै उनले डिल्लीबजार कारागारलाई आफ्नो ३ महिने घर समेत भनेका थिए ।
आइतवार फैसला आएन । अदालतले मुद्दालाई हेर्दाहेर्दैको स्थितिमा राखेपछि महरा निराश भएर फर्किए ।
सफाइ पाउने आशामा बसिरहेका महराको त्यतिबेला हाउभाउ नै फेरिएको थियो ।
फेरि सोमबार बिहान करीब ११ बजे नै उनलाई अदालत पुर्याइयो । फैसला आउन ढिला भएपछि उनी इजलाशबाहिर यताउता गरिरहे ।
१२ बजेदेखि २ बजेसम्म उनले समसामयिक विषयमा कुराकानी गरिरहेका थिए । कुराकानीको विषय थियो, एमसीसी ।
साढे २ बजेको समयमा महरामा बेचैनी देखियो । उनी १५ मिनेटको फरकमा २ पटक शौचालय गए ।
२ बजेर ३४ मिनेटको समयमा महरालाई अदालतको इजलासबाट भित्र बोलाइयो, फैसला सुन्न ।
अन्ततः उनले सफाइ पाए । अभियोगका लागि दाबी नपुगेको भन्दै काठमाडौं जिल्ला अदालतका न्यायाधीश अम्बरराज पौडेलको इजलासले महरालाई निर्दोष ठहर गरेको हो ।
फैसला सुन्न महरासँगै भित्र गएका उनका वकिल मुरारी सापकोटा हर्षित मुद्रामा बाहिरिए । तर, महराको हाउभाउ पुरानै थियो । पहिलाजस्तै संयमित ।
इजलाशबाट बारिह निस्किएपछि उनले सहयोगीको फोनबाट संक्षिप्त कुरा गरे । ‘परिवारका सदस्य कसैसँग होला’ एक सहयोगीले भने ।
इजलाशबाहिर पत्रकारसँग केही नबोलेका महराले तल गएर प्रक्रिया दिने बताए । तर, तल आएपछि प्रहरीले उनलाई भ्यानमा हालेर सिधै डिल्लीबजार लग्यो । उनका सहयोगीले डिल्लीबजारमै पुगेर प्रतिक्रिया दिने बताए ।
महराको स्वागतका लागि नेकपा केन्द्रीय सदस्य हिमाल शर्मा लगायतका नेता/कार्यकर्ता अदालत पुगेका थिए ।