
बलात्कार प्रयासको मुद्दामा जिल्ला अदालत काठमाडौँबाट सफाइ पाएका पूर्व सभामुख कृष्णबहादुर महरालाई सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले फोनमार्फत बधाइ दिएका छन् ।
सोमवार अदालत परिसरबाट बाहिर निस्कँदै गर्दा प्रचण्डले फोन गरेर बधाइ दिएका हुन् ।
'बधाइ छ कमरेड !' प्रचण्डले फोनमार्फत महरालाई बधाइ दिँदा महरा मुस्कुराएर धन्यवाद भनेका थिए ।
महरासँग सँगै रहेका नेकपा केन्द्रीय सदस्य हिमाल शर्माले अदालत परिसरबाट बाहिर निस्किँदा शीर्ष नेताहरूसँग कुराकानी भएको पुष्टि गरे ।
'परिवारका सदस्य, पार्टीको शीर्ष नेतृत्व लगायतबाट उहाँलाई बधाइ आइरहेको छ,' शर्माले लोकान्तरसँग भने ।
महरालाई यौन दुर्व्यवहारको आरोपमा गत असोज १९ गते प्रहरीले नियन्त्रणमा लिएको थियो ।