२३ जेठ २०८३, शनिबार
फर्केर हेर्दा ...

महिला डाक्टरको त्यो ‘कोरोना त्रास’ : चीनबाट उद्धार गर्न ढिलाइ हुँदा पटक–पटक रोयौं !

फागुन ६, २०७६
महिला डाक्टरको त्यो ‘कोरोना त्रास’ : चीनबाट उद्धार गर्न ढिलाइ हुँदा पटक–पटक रोयौं !

सरकारले चीनको कोरोना प्रभावित क्षेत्रमा रहेका १७५ जना नेपालीलाई उद्धार गरी ल्याएर भक्तपुरको खरिपाटीस्थित क्वारेन्टाइनमा राखेको छ ।

एमबीबीएसको अध्ययन पूरा गरी २ वर्षअघि मास्टर्स डिग्री गर्न चीन गएकी एक महिला डाक्टर खरिपाटी क्वारेन्टाइनमा छिन् । उनले कोरोनाको त्रासबीच चीनमा रहँदाको भोगाइ नाम नखुलाउने शर्तमा लोकान्तरलाई सुनाएकी छन् ।

ती डाक्टरसँग गरिएको कुराकानीको सम्पादित अंश उनकै शब्दमा –

एमबीबीएस सकेपछि मास्टर्स डीग्रीको लागि २ वर्षअघि चीनको छिन्सो शहर गएकी थिएँ । जब कोरोना भाइरस डीजीज्–१९ (कोविड–१९) फैलिएपछि चीन सरकारले हामीलाई बाहिर ननिस्कन आग्रह गर्‍यो ।

त्यसपछि त्यहाँ सबै बजार, होटल, कतिपय डिपार्टमेन्टल स्टोरहरू पनि बन्द हुन थाले । ट्रेन, बस लगायतका सबै सार्वजनिक यातायातका साधन बन्द हुन थाले । मानिसहरू बाहिर निस्कने भन्ने त कुरै भएन । चीनको नियम कडा भएकाले कोही पनि बाहिर निस्केको देखिएन । 

तर हामी चीनको वुहानबाट झण्डै साढे १ घण्टाको रेल यात्रापछि पुगिने छिन्सो शहरमा बस्थ्यौं । त्यहाँ साना डिपाटमेन्टल स्टोरहरू फाट्टफुट्ट मात्रै खुल्थे तर पनि हामीलाई डिपार्टमेन्ट स्टोलमा जान पनि बन्देज थियो । कोरोना तीब्ररुपमा फैलिएको कारणले जान नपाइने भनिएको थियो ।

विश्वविद्यालयले हामीलाई खानेकुराहरू पहिले नै किनेर राख्नु भनेको थियो । हामीले करीब १५ दिनको लागि खानेकुराहरू किनेर राखेका थियौं तर कतिपय खानेकुराहरू त १ हप्तापछि कुहिन पनि थाले । फेरि हामीले १५ दिनपछि धेरै नै फैलिएपछि घरबाट बाहिर कोही निस्कन नपाउने भएकाले हामीले अर्को १५ दिनको लागि खाना अनलाइनबाट किनेर राखेका थियौं । पछिपछि खाना कुहिने भएकाले अलि गाह्रो हुन थालेको थियो ।

हामी ३–४ जना साथी मिलेर कलेजको होस्टेलभन्दा बाहिर अपार्टमेन्ट लिएर बसेका थियौं । त्यसकारण हामीलाई खाना सकिन्छ कि भन्ने डर भयो, बाहिर पनि जान नपाउने । विश्वविद्यालयले पनि खानाको व्यवस्था गरेको थियो तर पनि बाहिर जान नपाउने भएकाले अझ धेरै अत्यास लागेको थियो ।

अन्य देशका विद्यार्थीलाई फिर्ता लैजाँदा त झनै अत्यास लागेको थियो । हामी पनि कहिले घर जान पाइन्छ र ढुक्कको सास फेर्न पाइन्छ जस्तो लागेको थियो ।

पहिलो चोटी अब नेपाल फर्कनको लागि तयार हुनु भन्दै फेब्रुअरी २ (माघ १९) मा सूचना जारी भएको थियो । त्यो बेलामासम्म हामीले नेपाली दूतावासले दिएको फाराम भरिसकेका थियौं अर्थात् आवेदन दिइसकेका थियौं ।

चीनमा दिनानुदिन मानिसहरू मरिरहेका छन् । अझ धेरै कोरोना फैलिरहेको छ भन्दा झन् धेरै अत्यास लाग्थ्यो । नराम्रो लाग्थ्यो । आफ्नो भविष्य सोचेर रुन्थ्यौं तर रोएर पनि केही नहुने ! त्यो बेलामा नेपाल सरकारले छिटो गरिदिएको हुन्थ्यो जस्तो लाग्थ्यो । घर छिटो जान पाए हुन्थ्यो जस्तो भने लागि नै रहन्थ्यो । अरु देशका विद्यार्थीहरू आफ्नै अगाडि स्वदेश फर्किराखेको देख्दा भने साह्रै अत्यास लागेर रुन्थ्यौं ।

अन्ततः नेपाल फर्किने दिन चाहिँ साह्रै खुशी लागेको थियो । कतिखेर अपार्टमेन्टबाट निस्किउँ जस्तो भएको थियो ।

हामीलाई निश्चित ठाउँमा आउन भनिएको थियो । त्यहाँ आउँदासम्म हामीलाई ५ ठाउँमा तापक्रम चेक गरिएको थियो । चीन सरकारले पनि हाम्रो स्वास्थ्य जाँच गर्‍यो ।

एयरपोर्टमा हामीलाई राम्रोसँग चेक गरेर प्लेनमा राखिएको थियो । त्यसपछि नेपाल आएपछि पनि ५ ठाउँमा परीक्षण गरेर यहाँ ल्याइएको छ ।

नेपाल आएपछि नाक र घाँटीको परीक्षण गरिएको छ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग केन्द्रबाट आएका डाक्टरले उपचार गर्नुभएको छ । खुशी छु । आशा छ १५ दिनपछि राम्रोसँग घर जान पाउने छु ।

नेपालीलाई चीनबाट फर्काउनको लागि बनाइएको संघर्ष समितिका संयोजक नेमबहादुर ताम्राकारले नेपाल सरकारले विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) को मापदण्ड पुर्‍याएर ल्याउनको लागि धेरै संघर्ष गर्नुपरेको बताए । 

‘हामीले स्वास्थ्य मन्त्रालय, प्रधानमन्त्री कार्यालय, परराष्ट्र मन्त्रालय लगायतका निकायमा लगभग ५–५ चोटीको प्रयासले डब्लूएचओको मापदण्ड अनुसार ल्याउन सफल भएका हौं,’ उनले लोकान्तरलाई भने । आउन बाँकी अन्य नेपाली नागरिकलाई ल्याउनको लागि पनि पहल गरिरहने संयोजक ताम्राकारले बताए ।

salt training

कमेन्ट गर्नुहोस्