
बार्सिलोना क्लबका सुपरस्टार लियोनेल मेस्सीले क्लबमा अनौठा गतिविधि भइरहेको बताएका छन् ।
स्पेनको एक रेडियो स्टेसनले सनसनीखेज खुलासा गर्दै बार्साले एक सामाजिक सञ्जाल कम्पनीलाई नियुक्त गरेर क्लबका प्रमुख खेलाडीको बदनाम गर्न र अध्यक्ष जोसेप मारिया बार्टोमेउको प्रतिष्ठा सुरक्षित पार्न सन्देशहरू प्रवाह गर्न लगाएको भनेको थियो ।
बार्सिलोना क्लबले यसको कडा खण्डन गरेको थियो ।
मेस्सीले मुन्डो डिपोर्टिभो पत्रिकासँग कुरा गर्दै बार्टोमेउको बयानपछि उनीमाथिको आरोप सत्य भए नभएको हेर्न बाँकी नै रहेको बताएका छन् ।
‘मलाई यसले आश्चर्यचकित बनायो किनकि म त्यतिखेर बाहिर थिएँ । म फर्केपछि अलिअलि गर्दै यो कुरा थाहा पाएँ । अध्यक्षले सार्वजनिक रूपमा जे भने हामीलाई व्यक्तिगत रूपमा पनि त्यही भने । म यसमा थप बताउन सक्दिनँ,’ मेस्सीले भने ।
‘साँचो कुरा भन्ने हो भने म अनौठा कुरा भइरहेको देख्छु । यसको प्रमाण पनि छ भनिएको थियो । यो सत्य हो कि हैन हामीहरू हेर्नेछौं । स्पष्ट भन्नुपर्दा, यो विषय मेरा लागि अनौठो हो ।’
यस प्रकरणसँगै मेस्सी बार्सिलोनाबाट बाहिरिने हल्ला पनि चल्न थालेको छ ।
तर मेस्सीले यस विषयमा स्पष्ट पार्दै भने, ‘म बार्सिलोना मन पराउँछु यद्यपि रोजारियोलाई पनि मिस गरिरहेको छु ।’
‘यो मेरो घर हो र म यहाँ अर्जेन्टिनामा भन्दा बढी समय बसेको छु । म बार्सिलोना मन पराउँछु र म बस्ने कास्तेलदेफेल्समा रमाइलो जीवन बिताउँदैछु,’ उनले भने ।
द गार्डियनबाट