२४ जेठ २०८३, आइतबार

गोकुल बाँस्कोटा प्रकरणमा ओलीले भने– रूलिङ पोजिसनमा पुर्‍याउनु लूटिङ फ्यासिलिटी दिनु होइन

गोकुल बाँस्कोटा प्रकरणमा ओलीले भने– रूलिङ पोजिसनमा पुर्‍याउनु लूटिङ फ्यासिलिटी दिनु होइन

प्रधानमन्त्री केपी शर्मा ओलीले स्वच्छता र पारदर्शिताको सम्बन्धमा अलिकति पनि प्रश्न उठ्यो भने आफूले त्यस्तो व्यक्तिको अनुहार समेत नहेर्ने कुरा दोहोर्‍याएका छन् ।

सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद सम्झौताका लागि तत्कालीन सञ्चारमन्त्री गोकुल बाँस्कोटाले स्विस कम्पनीका एजेन्टसँग ७० करोड कमिसन डील गर्दै गरेको अडियो सार्वजनिक भएपछि ओलीले यस्तो प्रतिक्रिया दिएका हुन् ।

नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीको पुस्तक 'आर्थिक सम्मृद्धि' बिहीवार बालुवाटारमा विमोचन गर्दै प्रधानमन्त्री ओलीले भने– 'रूलिङ पोजिसनमा पुर्‍याउनु भनेको लूटिङ फ्यासिलिटी दिएको होइन । स्वच्छता पारदर्शिताको सम्बन्धमा अलिकति मात्र पनि प्रश्न उठ्यो भने मैले पहिलेदेखि नै भन्ने गरेको छु मैले कसैको अनुहार हेरेर होइन, यो करप्सनप्रतिको जिरो टोलरेन्स (भ्रष्टाचारप्रतिको शून्य सहनशीलता) भन्ने मात्र कुरा होइन, जिरो टोलरेन्सको नीति नै लिएको छु ।'

जस्तोसुकै अप्ठ्यारो आएपनि सुशासनका निम्ति कदम चाल्न आफू नहिच्किचाउने उनको जिकिर छ । 'सुशासनका निम्ति चाल्नुपर्ने कदममा म हिच्किचाउँदिन, अप्ठ्यारो त आउँछ, कठिनाइ अवश्य आउँछ ।'

कतिपयले आफूलाई प्रधानमन्त्री पद नै धरापमा पर्ला नि भन्ने गरेको भन्दै ओलीले धेरै समय शासन गर्न त प्रकृतिले नै नदिने बताए ।

'कहिलेकाहीँ मान्छेहरूले भन्छन्, तेरो प्रधानमन्त्री पद धरापमा पर्छ है यही चालले भनेर..., मलाई त्यसको चिन्ता छैन,' उनले थपे, ' मैले एउटा सिस्टम बसाउने हो । जतिसुकै सफल भएपनि प्रकृतिले लामो समय रुल (शासन) गर्न दिँदैन, धेरै समय शासनमा बस्न खोज्यो भने परिणाम राम्रो हुँदैन ।'

कमिसन रकम डिल गरेको अडियो सार्वजनिक भएपछि बाँस्कोटाले मन्त्री पदबाट राजीनामा दिइसकेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्